एस् ए टी भी २६ पौष, काठमाडौंः कटारीको एक सामुदायिक वन उपभोक्ता समूहले बालबालिकालाई न्यानो कपडा र उपभोक्तालाई निःशुल्क विद्युत् लाइन जडान गरिदिएको छ। कटारी नगरपालिका–७ स्थित सरस्वती वन समूहले त्यहीँका बालबालिका र उपभोक्तालाई सो सहयोग गरेको हो।
स्थानीय सरस्वती सामुदायिक वन उपभोक्ता समूहले सोही वडाको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो। जाडोयाममा चिसोबाट बचाउने उद्देश्यले समूहले आधारभूत तहमा अध्ययनरत ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो। समूहले उनीहरूलाई एकजोर ट्र्याकसुट, जुत्ता, मोजा र स्कुल ब्यागसमेत सहयोग गरेको छ।
बालबालिकालाई बढ्दो चिसोबाट बचाउँदै नियमित विद्यालय आउने बनाउन सो सहयोग गरेको समूहका अध्यक्ष खड्गबहादुर तामाङले बताए। उनका अनुसार समूहले उपभोक्ता हितमैत्री गतिविधि गर्ने गरी पारित गरेको वार्षिक कार्ययोजनाअनुसार सो कार्यक्रम गरिएको हो।
समूहले हरेक वर्ष उपभोक्ता हितकेन्द्रित गतिविधि गर्नुपर्ने कार्ययोजनामा उल्लेख भएअनुसार बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको अध्यक्ष तामाङले बताए।
त्यसैगरी वन समूहले वडाभित्रका उपभोक्तालाई निःशुल्क बिजुली बत्ती पनि जडान गरिदिएको छ। वडाभित्रका ७० घरधुरी निम्न र विपन्न परिवार उपभोक्ताको घरमा विद्युत् जडान गरिएको छ।
अध्यक्ष तामाङले उपभोक्ताकै सहयोग र सुरक्षाबाट वनजङ्गलको विकास र रक्षा हुने भएकाले समूहले पनि उपभोक्तामैत्री गतिविधि गर्नुपर्ने बताए। ‘सामुदायिक वन भनेको स्थानीय समुदायकै हो, उनीहरूकै रेखदेख र सुरक्षाबाट वनजङ्गल बच्ने, विकास हुने हो,’ अध्यक्ष तामाङले भने, ‘त्यसैले हरेक वर्ष समूहले पनि उपभोक्ताकै हितमा केन्द्रित भएर गतिविधि गर्ने गरेको छ।
त्यही अनुरूप यस्ता कार्यक्रम गर्दै आएका छौं।’ यी गतिविधि गर्दा वन पैदावारको बिक्रीवितरणबाट आएको आमदानीको उपयोग गर्ने गरिएको समूहको भनाइ छ।
समूहका सचिव कर्णबहादुर तामाङका अनुसार बलबालिकालाई न्यानो कपडासहित वितरण सामग्री खरिदमा एक लाख चार हजार खर्च भएको छ। त्यस्तै ७० घरधुरी उपभोक्ताको बिजुली जडानमा १० लाख रूपैयाँ खर्च भएको छ। सो बजेटबाट उपभोक्तालाई निःशुल्क मिटरबक्स र कालो तार उपलब्ध गराएर विद्युत् जडान गर्न सहयोग पु¥याएको सचिव तामाङले बताए।
वर्षौंअघि गाउँमा बिजुलीको पोल र तार विस्तार भइसके पनि आर्थिक स्तर कमजोरीका कारण मिटरबक्स र कालो तार किन्नसमेत नसकेका कारण अँध्यारोमा बस्न बाध्य उपभोक्तालाई समूहले लगानी गरेर उज्यालो बालिदिएको हो। त्यसका लागि समूहले विद्युत् जडानका लागि १० लाख रूपैयाँ नेपाल विद्युत् प्राधिकरण प्रशाखा कटारीसँग समन्वय गरेको जनाएको छ।
वन समूहले हरेक वर्षको वार्षिक कार्ययोजनामा उपभोक्तामैत्री गतिविधि गर्ने कार्यक्रम राखेर कार्यान्वयन गर्दै आएको छ। जसअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र सडकजस्ता भौतिक पूर्वाधारका कुरामा पनि लगानी गर्दै आएको छ।
बुधबार आयोजित एक कार्यक्रममा बालबालिकालाई न्यानो कपडा वितरण गर्दै अध्यक्ष तामाङले वन समूहले वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको बताए। उनले आगामी दिनमा पनि उपभोक्ता हितकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै लाने प्रतिबद्धता पनि जनाए।