एस् ए टी भी ०३ माघ, काठमाडौंः इजरायल र हमासले गाजामा १५ महिनादेखिको युद्ध अन्त्य गर्न सहमति जनाएका छन्।
युद्धविरामअन्तर्गत हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकसहित अन्यलाई रिहा गर्ने छ भने बदलामा इजरायलले हमासका कैदीहरूलाई रिहा गर्ने छ। तर, यो सम्झौता लागू हुन इजरायली मन्त्रिपरिषद्को अनुमोदन आवश्यक छ। कतारको राजधानी दोहामा इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा यो सम्झौता भएको हो।
इजरायलको तर्फबाट मोसाद प्रमुख डेभिड बर्निया र शिन बेट प्रमुख रोनेन बार सहभागी थिए भने अमेरिकी पक्षबाट ट्रम्पका राजदूत स्टीभ विटकफ र बाइडेनका राजदूत ब्रेट म्याकगुर्क उपस्थित थिए। सम्झौतालाई तीन चरणमा विभाजन गरिएको छ।
हमासले पहिलो चरणमा ३३ इजरायली बन्धकहरूलाई रिहा गर्ने छ, जसमा महिला, १९ वर्षमुनिका बालबालिका, ५० वर्षमाथिका व्यक्तिहरू र बिरामीहरू समावेश छन्। बदलामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ। यो चरण ४२ दिनसम्म जारी रहने छ।
दोस्रो चरणमा हमासले बाँकी बन्धकहरू रिहा गर्ने छ, जसको बदलामा करिब १ हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिने छ। यस चरणमा इजरायली सेना गाजाको बस्तीवाला क्षेत्रबाट पछि हट्नेछ र स्थायी युद्धविराम हुने छ। यस चरणका विस्तृत विवरणहरू पहिलो चरणको क्रममा छलफल गरिने छन्।
तेस्रो चरणमा स्थायी युद्धविराम, गाजाको पुनर्निर्माण, र नाकाबन्दी हटाउने विषयमा छलफल हुने छ।
योसँगै नेपालका विपिन जोशी पनि रिहा हुने बाटो खुलेको छ। उनी पहिलो चरणमा रिहा नभए पनि त्यसपछि रिहा हुनसक्ने आशा पलाएको हो। यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले विपिन जिवित रहेको भन्दै चाँडै रिहा हुने बताएकी थिइन्। युद्धविराम जनवरी १९, २०२५ आइतबारदेखि लागू हुने छ तर, सम्झौताको घोषणापछि पनि गाजामा हवाई हमला जारी रहेको छ।
यो सम्झौता इजरायली मन्त्रिपरिषद्को अनुमोदन आवश्यक छ र केही वरिष्ठ मन्त्रीहरूले विरोध गरेका छन्। सम्झौताले उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनी नागरिकहरूलाई फर्कन अनुमति दिनेछ। गाजा र इजरायलबीच बफर जोन बनाइने सहमति भए पनि यसबारे दुवै पक्षको फरक धारणा छ। स्थायी शान्तिका लागि दुवै पक्षले थप वार्ता जारी राख्ने जनाइएको छ। युद्धविरामले गाजामा जीवन सामान्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।