नेभिगेसन मेनु

बंगलादेशलाई ४० मेगावाट विद्युत् बेच्न बिहीबार सम्झौता हुँदै
सम्पादक:南亚网络电视
समय:2024-09-30 12:17

biddyut bechdai

एस् ए टी भी १४ असोज काठमाडौँ — नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुने भएको छ । विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता हुन लागेको हो । 

यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले सम्झौता धकेलिएको थियो । ‘अब मंगलबार र बुधबार ऊर्जा सचिव र सहसचिवस्तरको बैठक बसेर बिहीबार विद्युत् बिक्रीसम्बन्धी सम्झौता गर्ने तय भएको छ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले भने, ‘सम्झौताका लागि बंगलादेशका ऊर्जामन्त्री आउने जानकारी पाएका छौं ।’

प्रवक्ता चटौतका अनुसार ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (ज्वाइन्ट स्टेरिङ कमिटी–जेएससी) र सहसचिव सम्मिलित संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लूजी) को बैठक मंगलबार र बुधबार काठमाडौंमा हुनेछ । यसअघि उक्त बैठक पोखरामा हुने भनिएको थियो ।

प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ, जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न लागेको हो । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले २०२३ डिसेम्बर ६ (गत वर्ष मंसिर २०) मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । त्यसपछि बीपीडीबीले नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि गत जनवरी १ (१६ पुस ०८०) मा बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात गत माघ दोस्रो साता पेस गरेको थियो ।

त्यसपछि प्राधिकरणको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो । नेपालले प्रतियुनिट बिजुलीको मूल्य ६.७० अमेरिकी सेन्ट प्रस्ताव गरेको थियो । नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा नदिने अडान राखेपछि बैठकमा मूल्यको सहमति जुटेन । तर पछि सिंगापुरमा विश्व बैंकले आयोजना गरेको सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश केही घटेर ६.४० अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमत भएको थियो ।

मूल्यमा सहमति भए पनि गत जेठ २९ मा मात्रै बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरेको थियो । पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना असार २३ मा प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले पनि बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिएको थियो । लगत्तै बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई पठाएको थियो । प्राधिकरणले मस्यौदा पाएसँगै सम्झौता मिति तय गरेर बीपीडीबीलाई निमन्त्रणासहित गत असार २६ मा पत्र पठाएको थियो ।

सम्झौता नहुँदै बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि बिजुली खरिदबिक्री सम्झौता के हुन्छ भन्ने अन्योल सिर्जना भएको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता हुन लागेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर