नेभिगेसन मेनु

बुटवल–गोरुसिङे सडक असारदेखि विस्तार हुने
सम्पादक:南亚网络电视
समय:2024-06-05 11:48

butal-gorusinge-sadak

जेठ २३ गते ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि गोरुसिङे ५० किलोमिटर सडकखण्डको पहिलो चरणको सडक विस्तारको काम असारदेखि सुरु हुने भएको छ । चार लेनमा हुने सडक विस्तारका लागि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले ठेक्का लगाएको हो । 

बुटवल–गोरुसिङे सडक आयोजना बुटवलका प्रमुख होमबहादुर एसीले ठेक्का प्रक्रियाको टुङ्गो लागेर आशयपत्रको सूचना जारी भएको र आशयपत्रमा कुनै उजुरी नपरेको अवस्थामा ठेक्का सम्झौताका लागि निर्माण कम्पनीलाई बोलाउने तयारी भएको जानकारी दिनुभयो । 

उहाँले जेठ मसान्तसम्म आशयपत्रको सूचनाको म्याद रहेको र त्यो बेलासम्म अहिले लागेको ठेक्कामा कसैको उजुरी नपरेमा निर्माण कम्पनीसँग लिखित सम्झौता भई निर्माणको काम अघि बढ्ने बताउनुभयो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सडक विस्तार कामको ठेक्का पाएको आयोजना प्रमुख एसीले बताउनुभयो । ५० किलोमिटर सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा ठेक्का लागेको हो ।

उक्त सडक अन्तर्गत बुटवल–गोरुसिङे ५० किलोमिटर पहिलो चरणमा र गोरुसिङे–चन्द्रौटा १९ किलोमिटर दोस्रो चरण गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम सुरु गर्न लागिएको हो । अहिले बुटवल–गोरुसिङे ५० किलोमिटर सडक विस्तारका लागि ठेक्का लागेको हो । दोस्रो चरणको सडक विस्तारको काम भने पछि हुने छ । 

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कल्भर्ट र छ वटा अन्डर पास/ओभर पास निर्माण हुने छन् । बुटवल–गोरुसिङे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ । यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । 

बहुवर्षीय योजना अनुसार निर्माण हुने सडकखण्डको पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणका लागि ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । त्यसपछि बुटवलको अहिलेको तिनाउ पुललाई विस्थापन गरी चितवनको जस्तै सिग्नेचर पुल निर्माण गरिने छ ।

विश्व बैङ्कले बुटवल–गोरुसिङे–चन्द्रौटा सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने सम्झौता भएको बताइएको छ । तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउन सहज हुने अपेक्षा गरिएको छ । 

आयोजनाका बुटवल प्रमुख एसीले ठेक्का सम्झौतालगत्तै मनसुनको समय सुरु हुने भएकाले सडकमा हुने आवागमनलाई असर नपर्ने गरी तत्काल अरू प्राविधिक काम हुने बताउनुभयो । सडक विस्तारकै क्रममा सडक किनारका रुख काट्ने, विद्युत्का पोल सार्ने, सडक ‘क्लियर’ गर्नेलगायतका काम तत्काल सुरु हुने छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर