नेभिगेसन मेनु

चिया पसलदेखि तारे होटलसम्म
सम्पादक:南亚网络电视
समय:2024-05-06 12:15

mmmm

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ का माधवप्रसाद नेपाल एक सफल व्यवसायी हुनुहुन्छ । अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिका–९, नयाँ बसपार्क छेउमा होटल न्यु इरा सञ्चालन गर्दै आएका नेपाल सामान्य परिवारमा जन्मेर पनि ठुलो मेहनत र परिश्रमपछि एक सफल पर्यटन व्यवसायी बन्न सफल हुनुभएको छ ।जीवनमा निकै सङ्घर्ष गरेर व्यावसायिक सफलता पाउन सकेकामा उहाँ अहिले प्रसन्न हुनुहुन्छ । पाल्पाको लुम्बिनी मावि लुङमा अध्ययन गर्नुभएका नेपालले २०३३ सालमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यतिबेला एसएलसी उत्तीर्ण गर्न सक्ने विद्यार्थीलाई जागिर पाउन त्यति कठिन थिएन । नेपालले एसएलसी गर्नासाथ जिल्ला शिक्षा अधिकारीले आफैँ बोलाएर शिक्षकको जागिर लगाइदिए ।

स्थायी शिक्षकको जागिर खाएर पनि उहाँ सन्तुष्ट हुन सक्नुभएन । उहाँको सुरुको तलब १८५ रुपियाँ थियो । तीन वर्षसम्म अध्यापन गराउँदा उहाँको तलब बढेर मासिक २२५ रुपियाँ पुगेको थियो । अध्यापन गरेको तीन वर्षपछि २०३६ सालमा घरबाट भागेर भारतको कोलकाता जानुभयो । परदेश गएर धेरै धन कमाउने आशामा घरपरिवारको सल्लाहबिना उहाँ भारत जानुभएको थियो । विवाह गरेकै साल श्रीमती र बाआमा छोडेर उहाँ भारत जानुभयो ।

धेरै धन कमाउने अभिलाषासहित भारतको कोलकाता पुग्नुभयो तर उहाँको परदेश यात्रा सोचे अनुसारको भएन । उहाँले धेरै दुःख पाउनुभयो । घर निर्माण गर्ने ज्यामीको कामसमेत उहाँले गर्नुभयो । एक श्रमिकका रूपमा काम गरेर उहाँले भारतमा तीन वर्ष बिताउनुभयो । प्रदेशी जीवन कठिन भएपछि उहाँ २०३९ सालमा घर फर्किनुभयो । आफ्नो घर पाल्पा फर्किंदा उहाँले दुई हजार नौ सय रुपियाँ कमाएर ल्याउनुभयो । कमाएको पैसा बालाई दिनुभयो । 

घर फर्केको १५ दिनमै नेपाल बासँग दुई हजार पाँच सय रुपियाँ मागेर बुटवलमा कुनै व्यवसाय गर्ने उद्देश्यले झर्नुभयो । बुटवलको अस्पताल लाइनमा एउटा सानो चिया पसल खोल्नुभयो । एक सेट बेन्च र टेबल राखेर सानो चिया पसल खोल्नुभएका नेपालले धेरै मेहनत र परिश्रम गरेपछि बिस्तारै होटल व्यवसायमा सफलता पाउँदै जानुभयो । करिब १० वर्ष चिया पसल गरेर बिताउनुभएका उहाँलाई बुटवलका आफ्ना मित्र डा. ईश्वर गौतमले साढे दुई लाख रुपियाँ लगानी गरेर एक होटल खोलिदिनुभयो । २०५० सालदेखि आवाससहितको होटल चलाउन थाल्नुभएका उहाँको व्यवसाय सफल हुँदै गयो । अहिले व्यवसायी नेपालले सञ्चालन गर्दै आएको होटल न्यु इरा बुटवलको उत्कृष्ट होटलमध्ये एक हो । 

विभिन्न नामका होटल सञ्चालन गर्दै व्यावसायिक सफलता प्राप्त गर्नुभएका नेपाल अहिले पर्यटन व्यवसायीका रूपमा सबैतिर परिचित हुनुहुन्छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको सचिव, अध्यक्ष हुँदै केन्द्रीय तहमा होटल व्यवसायी महासङ्घको संस्थापक अध्यक्षसमेत बन्नुभएका उहाँ अहिले अन्य सामाजिक सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ । होटल व्यवसायबाटै आर्थिक रूपमा मजबुत बन्नुभएका नेपालको होटल व्यवसायको क्षेत्रमा अहिले करिब ४० करोड रुपियाँ बराबरको सम्पत्ति छ । केवल दुई हजार पाँच सय रुपियाँ लगानीको चिया पसलबाट सुरु गरिएको उहाँको व्यवसाय अहिले करोडौँको लगानीका होटल भएका छन् । नेपालकै अगुवाइमा अहिले बुटवलदेखि पाल्पाको नुवाकोट डाँडासम्म केबुलकार सञ्चालनको तयारी छ । उहाँ नुवाकोट विकास समितिको अध्यक्षसमेत हुनुहुन्छ । ऐतिहासिक नुवाकोटमा पर्यटन प्रवर्धनका लागि उहाँले विभिन्न अभियान सञ्चालन गरिरहनुभएको छ । करिब सवा करोड रुपियाँको लगानीमा सञ्चालन हुन लागेको सिद्धार्थ केबुलकार प्रालिले निकट भविष्यमै केबुलकार सञ्चालन गर्न लागेको छ । बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका उहाँ बुटवलका विभिन्न उद्योगी व्यवसायी सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ । 

आफ्नो व्यवसायमा आफूलाई सफल बनाउने मुख्य सहयात्री आफ्नी श्रीमती गमला नेपाल भएको उहाँ बताउनुहुन्छ । हरेक दुःखकष्टमा श्रीमतीको साथ पाएर नै आफू सफल हुन सकेको उहाँको भनाइ छ । आफू मात्र नभएर नेपालले आफ्ना छोराछोरीलाई पनि सफल बनाउनुभएको छ । छोराबुहारी सरकारी सेवामा उपसचिव तहसम्मका जागिरे छन् भने छोरी बेलायतमा व्यवसाय सञ्चालन गरिरहेकी छिन् । 

निकै कठिन मेहनत, लगनशीलता र इमानदारीका साथ आफूले सङ्घर्ष गरेकाले यो सफलता प्राप्त भएको नेपालको अनुभव छ । होटल व्यवसायमा कैयौँ चुनौती र दुःखकष्ट भोग्दै यहाँसम्म आउन सकेकामा आफ्नो इमानदारी र मेहनत नै प्रमुख रहेको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गरिरहनुभएका उहाँले फल लागिसकेपछि कहिल्यै नसकिने बोटका रूपमा पर्यटन क्षेत्र रहेको तर्क गर्नुहुन्छ । परिश्रम गर्नेले प्रायः हारेका हुँदैनन् भन्ने उदाहरणका रूपमा स्थापित पर्यटन व्यवसायी नेपाल धेरैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । 

फ्रेन्च फ्राइजमा आत्मनिर्भरको सपना 

लगनशीलता, इमानदारी र मेहनतले सफलता चुम्न सफल अर्का व्यवसायीको नाम हो कृष्णप्रसाद पौडेल । रुपन्देहीलाई मुख्य कर्मथलो बनाएर नेपालका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका पौडेलको सफलताको कहानी रोचक नै छ । गुल्मीको साबिक पुर्कोटदह गाविसका पौडेलको जीवनमा कैयौँ उतारचढाव आए तर अथक परिश्रमले उहाँलाई सफल बनायो । घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँले उच्च शिक्षा पढ्नुको साटो एसएलसी दिएलगत्तै काम खोज्दै भारत जानुभयो । भारत गएर निकै मेहनतका साथ काम सिक्नुभएका पौडेलले अन्ततः नेपालमै आएर केही गर्ने सोचका साथ २०५८ सालमा नेपाल फर्किनुभयो । उहाँले भारतमा रहँदा मासु पसलमै काम गर्नुभएको थियो । त्यहाँ कमाएको सिपसँगै नगद एक लाख रुपियाँ लिएर उहाँले बुटवलमा मासु व्यवसाय सुरु गर्नुभयो । व्यवसायमा सफल हुँदै गएपछि कृष्ण अहिले मालिक बन्न सफल हुनुभएको छ । उहाँले सयौँ नेपालीलाई रोजगारी दिनुभएको छ ।

क्वालिटी फ्रेस हाउस नामको पसलबाट सुरु भएको उहाँको व्यवसाय अहिले नेपालकै एक प्रतिष्ठित उद्योगका रूपमा विकसित भएको छ । हाल ‘सुपर क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिज’ उहाँको मासु प्रशोधन उद्योग हो । यस उद्योगबाट उत्पादित मासु पनि अहिले बुटवलसँगै काठमाडौँ, पोखरा, दाङलगायतका सहरमा पु¥याइन्छ । बुटवलमा पहिलो पटक चिकित्सक राखेर परीक्षणपछि मात्र पशुपन्छी काट्ने पसल उहाँको थियो । बाहिरी देशको सिको गरेर नेपालमा नवीनतम प्रविधि ल्याउने गरेको पौडेलको भनाइ छ । अहिले यस उद्योगले मासु उद्योगसम्बन्धी सिप पनि सिकाउने गरेको छ । यसका लागि विभिन्न जिल्लाबाट युवा आउने गर्छन् । कृष्णसँग सिप सिकेर करिब ५० जनाले त मासु पसल नै खोलेका छन् । सफलताको कडी धैर्य र निरन्तरको मेहनत नै भएको उहाँ बताउनुहुन्छ । पौडेलले २०६४ सालमा कुखुराको मासु प्रशोधन गरेर बजार पु¥याउने उद्योग खोल्नुभयो । अहिले उक्त उद्योगले कुखुराको मासु प्रशोधन गरी देशका प्रमुख सहरमा बिक्री गर्दै आइरहेको छ । 

बुटवलमा खोलेको उहाँको मासु उद्योग अहिले पोखरा, काठमाडौँ, चितवन, नेपालगन्ज, धनगढीजस्ता बजारमा विस्तार भएको छ । मासु उद्योगमा सफलता हासिल गरेपछि पौडेलले आलुका विभिन्न परिकार बनाउने उद्योगको पनि सञ्चालन गर्नुभएको छ । ‘फ्रेन्च फ्राइज इन्डस्ट्रिज’ नामको उद्योग स्थापना गरिएको हो । यति ठुलो उद्योग स्थापना हुँदा राज्यबाट ब्याज अनुदान दिएर सहयोग हुनुपर्ने उहाँको भनाइ छ । यस उद्योगमा नेपालकै माटोको आलु प्रयोग गरेको उहाँले बताउनुभयो । ‘फ्रेन्च फ्राइज इन्डस्ट्रिज’ स्थापना गरेर धेरैलाई स्वरोजगारीसमेत उहाँले दिनुभएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकरमा खोलिएको ‘फस्र्ट च्वाइस फुड्स प्रालि’ नामक उद्योगमा लगानी मात्रै डेढ अर्ब रुपियाँ रहेको उहाँले जानकारी दिनुभयो । यो नेपालकै पहिलो भएको उहाँको दाबी छ । नेपालका ठुला होटल र रेस्टुरेन्टमा वार्षिक साढे सात अर्ब रुपियाँ बराबरका आलुका परिकार देशबाहिरबाट मगाउने गरिन्छ । त्यसैले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा आलु खेती गराउँदै ठुला होटलहरूमा फ्रेन्च फ्राइज आपूर्ति गर्ने गरी यो उद्योग स्थापना गरेको पौडेलले बताउनुभयो । पौडेलले चलाएको ‘आलु मिसन कार्यक्रम’ देशभर फैलिइरहेको छ । उद्योगमा पश्चिम कैलालीदेखि झापासम्मका ४० हजार किसान जोडिएका छन् । किसानलक्षित कार्यक्रम चलाउँदा मुलुकमै रोजगारी सिर्जना हुन्छ र युवालाई उत्पादनमा लगाउन सकिन्छ । 

पाँच बिघा क्षेत्रफलमा स्थापित उद्योगले नयाँ वर्ष २०८१ बाट ‘प्रोडक्टस् लन्च’ गर्दै छ । “हामीले पहिलो वर्ष धेरै उत्पादन गर्दैनौँ,” पौडेलले भन्नुभयो, “यो वर्ष हामी बजार स्थापित गर्छौं । योजनाले सार्थकता पाउँदा वार्षिक रूपमा हामीलाई ३० हजार मेट्रिक टन आलु चाहिन्छ, जसबाट हामीले १३ हजार मेट्रिक टन फ्रेन्च फ्राइज उत्पादन गर्छाैं । यसले बाहिरी मुलुकबाट आउने फ्रेन्च फ्राइज रोक्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।” 

फस्र्ट च्वाइस फुड्स प्रालिको स्थापना गर्न अनुसन्धान र यसको विकास (रिसर्च एन्ड डेभलपमेन्ट) गर्न मात्रै उहाँले १५ करोड रुपियाँ खर्चिनुभएको छ । यसका लागि पौडेल र उहाँको टिमले पाँच वर्षसम्म देश दौडाहा ग¥यो । किसानका घरदेखि बारीसम्म पुगेर आलु उत्पादनको बजार ग्यारेन्टी गर्ने विश्वास दिलाउनुभयो । उहाँको उद्योगबाट फ्रेन्च फ्राइजसँगै टिक्की, बर्गर, नगेट्स, चिप्स, समोसा, पकौडालगायत आलुकै करिब दर्जन जति परिकार उत्पादन हुने गर्छन् । फ्रेन्च फ्राइज माइनस २२ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नु पर्छ । यो १८ महिनासम्म उपभोग गर्न सकिन्छ । पौडेलको उद्योगमा उक्त तापक्रम कायम गर्ने शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिएको छ । फ्रेन्च फ्राइजलाई देशभरका सबै सहरमा पुयाउने लक्ष्य उहाँको छ । यसरी सानो लगानीमा फ्रेस हाउस खोलेर करोडौँ रुपियाँका लगानीमा उद्योग स्थापना गर्ने पौडेल एक प्रेरणाका पात्र हुनुहुन्छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर