नेभिगेसन मेनु

बुटवल चिडियाखोला सडक डिजाइन परिवर्तन गरी बनाइने
सम्पादक:南亚网络电视
समय:2024-05-10 13:05

butwal-chidiya-khola-sadak-(1)

वैशाख २८ गते  । निर्माण कम्पनीले समयमै काम नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक अब डिजाइन परिवर्तन गरी निर्माण गरिने भएको छ । 

समयमै काम सम्पन्न नभएको भन्दै बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको ठेक्का सडक डिभिजन कार्यालय बुटवलले तोडेपछि सडकको डिजाइन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले पहल सुरु गरेको छ । 

बुटवल बेलहिया व्यापारिक मार्ग भनिए पनि व्यवसायीमैत्री सडक बन्न नसकेको गुनासो आइरहेका बेला उपमहानगरपालिकाले सडकको पुनः डिजाइन गरी बनाउन कार्यदल गठन गरेको छ । उपमहानगरपालिकाले सडक डिभिजन कार्यालय बुटवलका प्रमुखसहित सरोकारवाला निकायसँग गरेको छलफलमा सडक निर्माणको कामलाई आवश्यक सहजीकरण गर्न नगर प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा कार्यदल गठन भएको हो । 

कार्यदलमा सडक डिभिजन कार्यालय बुटवल, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमका कार्यालय प्रमुख सदस्य र उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्यसचिव हुने गरी कार्यदल गठन भएको हो । कार्यदलले  सडकको केन्द्रबिन्दुदेखि प्रत्येक साइडतर्फ पैदल यात्रीका लागि तीन मिटर चौडाको फुटपाथ निर्माण, साइकल यात्रीका लागि दुई मिटरको साइकल लेन निर्माण, हलुका सवारी पार्किङ र प्रति ३० मिटर लम्बाइमा पार्क तथा सौन्दर्यीकरण गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।  यस्तै प्रत्येक पार्क र साइड सडकमा स्ट्रिट लाइट जडान, सडक फर्निसिङ, ट्राफिक सङ्केत, डिभाइडरमा टल्किने स्टिकर र सौन्दर्यीकरणका लागि पेन्टिङ गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै ट्राफिक चोक र गोलपार्क, बुटवल बहुमुखी क्याम्पस क्षेत्रमा आकासे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने, राजमार्ग चौराहा र हस्पिटल लाइनमा चारमुखे आकासे पुल निर्माण गर्नका लागि कार्यदलले सहजीकरण गर्ने भएको छ । यस्तै  दूरसञ्चारको तार व्यवस्थापन र अनावश्यक पोल हटाउने, सम्भव भएका स्थानमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने, खानेपानीका पाइप लाइन व्यवस्थित गर्न सम्बन्धित कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।

लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिक चोक, अमरपथ, सङ्गमपथ, राममन्दिर लाइन, चौराहा र मिलन चोकको बजार प्रभावित हुन पुगेको उहाँले बताउनुभयो । बुटवलको ऐतिहासिक बजारलाई आर्थिक हिसाबले चलायमान गराउनका लागि विभिन्न मापदण्डका आधारमा सडकको डिजाइन परिवर्तन गराउनका लागि सडक डिभिजन कार्यालयमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने कार्यदलले निर्णय गरेको पालिका प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख बिसुनदास लामाले २०७३ सालदेखि सुरु भएको बुटवल–बेलहिया व्यापारिक मार्गको काम  पटक पटक म्याद थप्दा समेत ठेकेदार कम्पनीले सम्पन्न नगरेपछि ठेक्का तोड्नु परेको बताउनुभयो  । समयमा नै काम नगर्ने कञ्चनजङ्घा–बिरुवा जेभी र बिरुवा कन्स्ट्रक्सन कम्पन्नी प्रालिबिच बुटवल–बेलहिया व्यापारिक मार्ग निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । समयमा नै काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले बुटवलको बजारलाई असर नपर्ने गरी सडकको डिजाइन गरिनुपर्नेमा जोड दिनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर