नेभिगेसन मेनु

इलाम २ उपनिर्वाचन : मत माग्न घरघर पुग्दै उम्मेदवार
सम्पादक:南亚网络电视
समय:2024-04-18 12:05

ilam-chunab2024-04-18-07-52-02

उपनिर्वाचन नजिकिएसँगै इलाम २ का उम्मेदवार अहिले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलोमा पुगेका छन् । इलाम २ का प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्रमा १५ वैशाखमा उपनिर्वाचन हुन लागेको हो ।

इलाम २ को उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गराएकामा एकजनाले उम्मेदवारी फिर्ता गरेपछि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेले सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन् । यसअघि पनि उनी ०७९ को निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वपत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचानवादी बाहुल्य रहेको यस क्षेत्रमा जनता समाजवादी पार्टी, धरानका मेयर हर्कराज राईलगायतको समर्थनमा डकेन्द्रसिंह लिम्बू चुनावी मैदानमा छन् । 

इलाम २ मा ६ वटा स्थानीय तह छन् । इलाम नगरपालिकाको १२ मध्ये ११ वटा वडा, माई नगरपालिकाको तीनवटा वडा, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका छन् । पहाडी जिल्ला भएका कारण उम्मेदवारलाई मतदाताको घरघरमा पुग्न निकै मुस्किल परेको छ । यद्यपि, उम्मेदवारहरू मतदाता रिझाउन घरघरसम्म पुगिरहेका छन् । मतदाताले उम्मेदवारसँग भौतिक पूर्वाधारकै कुरा उठाइरहेका छन् । ‘जनताको घरदैलोमा हामीलाई स्वागत गरिरहनुभएको छ । जनताको माया पाएका छौँ । विकासको काम अघि बढाउन जनताले आग्रह गर्नुभएको छ,’ एमाले उम्मेदवार सुहाङले भने, ‘बाटो, पानी, बिजुलीका कुरा जनताले उठाउनुभएको छ । कसरी जीवनस्तर उकास्न सकिन्छ भनेर मतदाताले सोचेको पाइयो । सेवाहरू छरितो ढंगले पाइयोस् भन्ने रहेछ ।’ एमाले चुलाचुली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा चुनावी अभियान सकाएर देउमाई नगरपालिका प्रवेश गरेको छ । बुधबार पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा एमालेले देउमाईस्थित मंगलबारे बजारमा चुनावी सभा गरेको थियो ।

कांग्रेसका उम्मेदवार डम्बर खड्काले निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये ३१ वटामा चुनावी अभियान सकिएको बताए । ‘विगतदेखि जनताको घरदैलोमै छु । म यहाँ नयाँ होइन । यसअघि तीन महिना जनताको घर–घरमा पुगेको छु । यसपटक तपाईंले गरेको दुःखको मूल्यांकन गर्छौँ भनेर जनताले भन्नुभएको छ,’ खड्काले भने, ‘वर्षौँदेखि बाटोघाटो, बिजुली, खानेपानी, कुलोको समस्या नै मतदाताले उठाइरहनुभएको छ । कतिपय योजना निर्वाचनमा भोट माग्ने माध्यम भएका छन् । आश्वासन मात्र जनताले पाएका छन् । यसमा जनताको गुनासो रहेको पाएँ ।’ पार्टीका उम्मेदवारलाई भोट माग्न कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ८ वैशाखमा इलाम आउने भएका छन् । थापा केही दिनअघि आएर फर्केका थिए । शर्मा कांग्रेसका चुनावी कमान्डर हुन् । 

रास्वपा उम्मेदवार मिलन लिम्बूले जनताका अपेक्षा विकास निर्माणसँग रहेको बताए । ‘हामी प्रतिनिधिसभाको निर्वाचनमा नीति निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका छौँ । तर, विगतको अभ्यासले भौतिक विकासको साझेदार र नेतृत्व गर्ने भनेर जनतालाई बुझाइएको छ । पुल, बाटो बनाउने भनेर भोट मागिएको छ । तसर्थ अहिले मत माग्न घरदैलो पुग्दा जनताले यस्तो नीति बनाइदिनुस् भनेको एउटा पनि पाएको छैन । अधिकांश जनताले विकासको कुरा उठाउनुभएको छ,’ लिम्बूले भने, ‘हामीले पनि नीति बनाउने र विकासको साझेदार बन्ने सन्दर्भमा भूमिका खेल्छौँ भनिरहेका छौँ । बाहिरबाट देखिने इलाम र वास्तविक इलाम फरक छ । बाहिरबाट इलामलाई सुगम र विकसित भनिन्छ । तर, यहाँ बाटोघाटो छैन, विद्युतीकरण, खानेपानी छैन । तसर्थ भौतिक विकासमा जनताको चासो छ ।’ लिम्बूले इलाम नगरपालिका, चुलाचुली, देउमाई, फाकफोकथुमलगायत पालिकामा घरदैलो अभियान सञ्चालन गरिसकेका छन् । 

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बू पनि चुनावी अभियान लिएर घरदैलो पुग्दै छन् । उनले गर्ने चुनावी सभामा धरानका मेयर हर्कराज राई, अभियन्ता युग पाठक, स्वागत नेपाल, डा. मित्र परियार, डा. केशवमान शाक्यलगायत पुगिरहेका छन् । उम्मेदवार लिम्बूले एकपटक सबै पालिकामा चुनावी अभियान गरिसकेको बताए । ‘एकपटक सबै पालिकामा पुगेका छौँ । तर, धेरै ठाउँमा भित्र–भित्र जान सकेका छैनौँ । अझै समय छ । यसबीचमा सबैतिर पुग्छौँ,’ उनले भने, ‘जनताबाट राम्रो प्रतिक्रिया आएको छ । स्वतन्त्र उम्मेदवारको लहर पनि आएको छ ।’

इलाम २ मा विगतमा एमालेको वर्चस्व देखिन्छ । ०४८ यताका सात संसदीय निर्वाचनमा ६ वटा निर्वाचन एमाले जितेको छ । ०५१ मा कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले जितेका थिए । ०४८ मा एमालेका मणिकुमार लिम्बूले निर्वाचन जितेका थिए । ०५६ यता ०७९ सम्मको पाँच संसदीय निर्वाचनमा यस क्षेत्रबाट लगातार सुवासचन्द्र नेम्वाङले जितेका थिए ।

सुहाङले हारे इलामलाई घाटा : ओली

एमाले अध्यक्ष केपी ओलीले इलामको विकासका लागि सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरेका छन् । बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुहाङले हारे इलामलाई घाटा हुने दाबी गरे । इलाम २ मा निरन्तर जित हासिल गर्दै आएका सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न सुहाङलाई जिताउनुपर्ने उनले बताए । ‘हामीले सुवास नेम्वाङको उद्देश्यलाई अघि बढाउने संकल्प र अठोट गरेका छौँ । सुहाङ आफ्ना पिताले अघि बढाएको इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर आएका हुन्,’ ओलीले भने, ‘यहाँबाट चुनाव हार्दा उसलाई घाटा पर्दैन । तर, इलामलाई घाटा पर्छ । यस्तै कर्मठ युवालाई जिताउनुपर्छ ।’ उनले माओवादी, विप्लव नेतृत्वको नेकपालगायतले एमालेले देश बनाउने संकल्प लिएकै कारण एमाले उम्मेदवारलाई समर्थन गरेको दाबी गरे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर