नेभिगेसन मेनु

मुग्लिङ–पोखरा सडक : पूर्वतर्फको अवधि सकिँदा ५५ प्रतिशत मात्रै काम
सम्पादक:南亚网络电视
समय:2024-04-17 12:13

muglin-pokhara2024-04-17-07-25-53

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्डको आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम जारी छ । सडकखण्डअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको क्षेत्रलाई दुई प्याकेज पूर्व र पश्चिम खण्डमा छुट्याइएको छ । पूर्व खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर क्षेत्र तेकिएको छ । एसियाली विकास बैंक (एडिबी) १३ अर्ब ६१ करोड ऋणमा सडक विस्तारको काम भइरहेको छ । सडक विस्तारका क्रममा कुल ८१ किलोमिटरमध्ये करिब २० किलोमिटर ६ लेनको हुनेछ । 

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको पूर्व खण्डको निर्माणको सम्झौता आइतबार सकिएको छ । २ वैशाख ०८१ सम्म निर्माण सक्ने गरी ६ अर्ब २१ करोड ३१ लाखमा कम्पनीले १४ माघ ०७७ मा ठेक्का सम्झौता गरेको थियो । समय सकिँदा पनि निर्माण कार्य भने ५५ प्रतिशत मात्र भएको छ । पूर्व खण्डका आयोजना प्रमुख श्यामकुमार यादवका अनुसार यस क्षेत्रमा पर्ने ४१.४५ किलोमिटरमध्ये १.३४ किलोमिटर ६ लेन र बाँकी सडक चार लेनमा विस्तार भइरहेको छ ।

३० चैत ०८० सम्म एक साइड २६ किलोमिटरसँगै १८ किलोमिटर दुईतर्फी पिच भएको उनको भनाइ छ । यस क्षेत्रमा मेजर चार र माइनर १४ गरी १८ वटा मोटरेबल पुल छन् । त्यसमध्ये दुई मेजर पुलबाहेक सबै निर्माण भइसकेको उनले बताए । कुल ४१.४५ किलोमिटरमध्ये करिब डेढ किलोमिटर सडक क्षेत्रको साइड क्लियर गर्न बाँकी रहेको उनले जानकारी दिए । साइड क्लियर गर्न बाँकी रहेका क्षेत्रबाहेक अन्य स्थानमा कल्भर्ट, नाला, ग्याबिन जाली भर्ने, विद्युत्को पोल सार्ने, खानेपानीको पाइपलाइनलगायत सबै काम सकिएको छ ।  

दमौली र डुम्रे बजारमा समस्या  

पूर्व खण्डका आयोजना प्रमुख यादवका अनुसार ४१.४५ किलोमिटरमध्ये ४० किलोमिटर क्षेत्रको साइड क्लियर भइसकेको छ । यस खण्डमा मुख्य बजार क्षेत्र दमौलीमा आठ सय मिटर र डुम्रेमा करिब ६ मिटर सडक क्षेत्रको साइड क्लियर गर्न बाँकी छ । यस क्षेत्रमा करिब ६५ प्रतिशत घरटहरा मात्र सम्बन्धित धनीले हटाएको र केही अटेर गरेको यादवले जानकारी दिए ।

साइड क्लियर नहुँदा कल्भर्ट, नाला, ग्याबिन जाली भर्ने, विद्युत्को पोल सार्ने, खानेपानीको पाइपलाइन सार्नेलगायत काम हुन नसकेकाले मुख्य चुनौतीका रूपमा यो क्षेत्र देखिएको उनको भनाइ छ । यस क्षेत्रमा विद्युत्का करिब सात सय पोल रहेका छन् ।  पश्चिमतर्फको म्याद भने १२ भाद्र ०८१ सम्म रहेको छ । चार महिना मात्रै समय बाँकी रहेको पश्चिमको निर्माण कार्य पनि १९ प्रतिशत मात्र सम्पन्न भएको छ ।  

निर्माण कम्पनीद्वारा चार सय ५६ दिन थप समय माग

सम्झौता म्याद सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले परामर्शदातासँग चार सय ५६ दिन थप समय माग गरेको यादवले जानकारी दिए । सडक स्तरोन्नतिका लागि स्विट्जरल्यान्डको रेनारडेट कम्पनी परामर्श दाताका रूपमा रहेको छ । आयोजनाको कार्यालयलाई परामर्शदाताले गरेको सिफारिसअनुसार सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयलाई लेखिपठाएपछि कति दिन म्याद थप गर्ने निर्णय हुने यादवले बताए ।  

विगत ६–७ महिनाअघिको तुलनामा अहिले कामको रफ्तार धेरै बढेकाले यही गतिमा काम भए एक वर्षमा सबै काम सकिने उनको जिकिर छ । विशेष गरी निर्माण कम्पनीले परामर्शदातासँग सुरुमा कोभिडको दोस्रो लहरका कारण र पछि विद्युत्, खानेपानी, टेलिफोनलगायत लाइन सार्ने काममा भएको ढिलाइले सडक निर्माणको काममा अवरोध भएको बताएको छ ।  

पर्यटन व्यवसायीको निरन्तर खबरदारी  

पर्यटकीय राजधानी पोखरालाई जोड्ने मुख्य सडक पृथ्वी राजमार्गको पोखरा खण्डमा दैनिक आठ हजार सवारीसाधन गुड्ने अनुमान छ । साढे दुईदेखि तीन घण्टामा पार गर्न सकिने खण्डमा अहिले सात घण्टासम्म लाग्ने गरेको छ । सुस्त गतिमा काम भएको भन्दै पोखराका पर्यटन व्यवसायीले कामको गति बढाउन निरन्तर खबरदारी गर्दै आएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले निर्माणको काम विगत ५–६ महिनाको तुलनामा धेरै बढेको भए पनि सन्तुष्ट जनाउन सक्ने अवस्था नरहेको बताए । होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यसअघि जे भए पनि हाल भइरहेको कामलाई अझै तीव्रता दिनुपर्ने बताए । सडक निर्माण सम्पन्न भएपछि पोखराको मात्र नभएर समग्र देशको आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर