नेभिगेसन मेनु

मधेशमा जोडघटाउ सुरु
सम्पादक:南亚网络电视
समय:2024-03-07 12:48

Untitled-2

फागुन २४ गते । सङ्घीय सरकारमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेश प्रदेश सरकारमा पनि यसको प्रभाव पर्ने देखिएको छ । नयाँ सत्ता गठबन्धनपछि मधेश प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्नेबारेमा जोडघटाउ सुरु हुन थालेको छ । राजनीतिक रूपमा सचेत वर्ग, राजनीतिककर्मीहरूबिच चोकचौराहा, पान पसल, चिया पसललगायत अन्य स्थानमा जम्का भेटलगत्तै मधेश प्रदेश सरकार बन्ने सम्भावनाबारे अनेक दृष्टिकोणबाट आकलन हुने गर्दछ । 

अहिले सङ्घमा नयाँ बनेको चार दलको हिसाब गर्दा यहाँ वर्तमान नेतृत्व सरकार जोखिममा रहेको छ । सङ्घमा चार दलको गठबन्धन बन्दा मधेश प्रदेशमा नयाँ गठबन्धनका तीन दलको मात्र उपस्थिति रहेको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन ।

सङ्घमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको नयाँ सत्ता गठबन्धन बनेको छ । मधेश प्रदेशमा नयाँ गठबन्धनमध्येका जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री छन् । मधेशमा १०७ जना प्रदेश सभा सदस्य छन् । मधेश प्रदेश सभा सचिवालयका अनुसार एमालेका सभामुखसहित २३, नेपाली कांग्रेसका २२, जसपाको १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका नौ÷नौ, नेकपा (एकीकृत समाजवादी) सात र स्वतन्त्र तीन सांसद छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी पार्टीका एक÷एक सांसद छन् । स्वतन्त्रमध्येका एक सांसद अनिरुद्धप्रसाद सिंह जसपामा प्रवेश गरिसक्नुभएको छ तर प्रदेश सभा सचिवालयलाई सोको जानकारी नगराएकाले स्वतन्त्रकै सूचीमा राखिएको छ । योसमेत जोड्दा जसपाको जम्मा १९ सांसद पुग्छ ।   

मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले २३, जसपा १९ र माओवादी केन्द्रको नौ गरी ५१ सांसद मात्र पुग्छ । सरकार बनाउन तीन सांसद अझै आवश्यक पर्छ । नयाँ गठबन्धनका लागि जनमत पार्टी, एकीकृत समाजवादी वा लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ । अथवा नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय 

समाजवादी पार्टीको एक एक जना सांसदको सर्मथन लिनुपर्ने देखिन्छ ।

प्रदेश सरकारको दोस्रो कार्यकालमा पहिले एमाले नेतृत्वकै गठबन्धन बनेका बेलामा मुख्यमन्त्री सरोजकुमार यादव बन्नुभएको थियो । सङ्घमा सत्ता समीकरण फेरिएर नेपाली कांग्रेससहितको गठबन्धन बनेपछि पनि निरन्तरता पाउनुभएको छ । नयाँ गठबन्धन बनेपछि मधेश प्रदेशको मुख्यमन्त्री जसपाकै भागमा पर्ने वा गठबन्धनका अन्य नयाँ दलले लिनेबारे सत्ता गठबन्धनभित्र अझै टुङ्गो लागेको छैन । जसपाका एक प्रदेश सांसदले केन्द्रमा समीकरण फेरिए पनि मधेशमा जसपाको नेतृत्व यथावत रहने दाबी गर्नुभएको छ तर केन्द्रमा सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले जे निर्णय गर्छ सोही अनुसार सरकार बन्ने छ ।

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले मधेशमा पनि सरकारको नेतृत्वमा आलोपालो हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आलोपालो नेतृत्वको निर्णय हुन्छ । जसपाले नेतृत्व गरिसक्नुभएको छ । अब अन्य दलले अवसर पाउनु पर्छ । कसले पहिले नेतृत्व गर्ने वा यथावत रहने विषयमा केन्द्रले नै निर्णय गर्ने र सो निर्णयको हामी पर्खाइमा रहेका छौँ,” उहाँले थप्नुभयो ।

अहिलेको नयाँ गठबन्धन अनुसार मधेशमा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सांसद सङ्ख्या सरकार गठनका लागि पर्याप्त छैन । यता जनमत पार्टीले गठबन्धनमा सामेल हुन मधेशको मुख्यमन्त्री पद पाउनुपर्ने सर्त अघि सारेको छ तर सो विषयमा पनि टुङ्गो लागेको छैन । जसपासँग जनमतको बढेको तिक्तताका कारण यही गठबन्धनमा जसपा रहेकाले जनमतको सर्त पूरा हुने सम्भावना न्यून रहेको एकथरीको आकलन रहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर