काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआईअन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली राजनीतिक दलहरूबीचको छलफलका क्रममा महासचिव पोखरेलले बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरू पछि परेको बताएका हुन् ।
महासचिव पोखरेलले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए । विकासको चरणमा रहेको नेपालले बीआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको उनले जिकिर गरे । उनले बीआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाका नियमित सुरु गर्न पनि आग्रह गरे ।
महासचिव पोखरेलले नेपाल र चीनबीचको भूगोललाई चुनौती नभई अवसरका रूपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके द्विपक्षीय सम्बन्धलाई फाराकिलो बनाउने बताए । उनले चिनियाँ प्रतिबद्धताका कार्यक्रमहरू छिटो कार्यान्वयन भएको आफूहरूले हेर्न चाहेको बताए ।