नेभिगेसन मेनु

तराईमा माघीको रौनक सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-10 15:49

mayur-nach

पुस २५ गते । रुपन्देहीको थारु गाउँमा माघीको रौनक सुरु भएको छ । थारु समुदायको  महत्त्वपूर्ण पर्व माघीको अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना गर्ने तयारी भएको छ । 

थारु समुदायले नयाँ वर्षकारुपमा मनाउने माघीलाई थारु युवाले संस्कृति संरक्षणका रूपमा समेत मनाउन थालेका छन् । थारु कल्याणकारी सभा सैनामैना नगर समितिले यही पुस २६ देखि २९ गतेसम्म तीन दिने माघी महोत्सव रुपन्देहीको सालझण्डीमा गर्ने भएको छ ।

माघीकै अवसरमा सालझण्डीमा हुने माघी महोत्सवमा थारु जातिको ऐतिहासिक नाच महाभारत बडका नाच, झुम्रा, झर्रा, लाठी नाच, टिकुली टाँस, डेलवा रेस, घोंगी चुस्ने प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । 

थारु समुदायका युवा साहित्यकार केवलप्रसाद थारुले थारु समुदायका युवाले आफ्नो परम्परा र संस्कृति नर्बिसुन् भन्ने उद्देश्यले यो वर्ष सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिएर तीन दिवसीय माघी महोत्सव गर्न लागिएको बताउनुभयो । रुपन्देहीमा तिलोत्तमा नगरपालिकाको मणिग्राममा, देवदह नगरपालिकाको देवदह खैरहनी, सैनामैना नगरपालिकाको सालझण्डी र भड्छालगायतका गाउँमा माघी महोत्सवको तयारी भइरहेको छ ।    

थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारुले थारु समुदायका युवा पनि आधुनिक संस्कृतितर्फ लागेपछि आफूहरूको संस्कृति ओझेलमा पर्न थालेको बताउँदै माघीकै अवसरमा संस्कृति संरक्षणमा ध्यान दिने गरी महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । माघीको अवसरमा थारु संस्कृतिसँगै थारु समुदायको परम्परागत खाना ढिक्री, घोंगी, माछाको सिध्रा, माछाको सुकुटी, मासु, अनदीको भुजाको स्वाद चखाउने गरी महोत्सव आयोजना गरिएको हो । 

माघीकै अवसरमा ठुलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय पनि यही समयमा हुने गरेको छ । माघ १ गते माघीकै दिन बच्चादेखि वृद्धबृद्धाले नजिकै रहेको नदीनाला, पोखरीमा स्नान गरी चामल छुट्याई बिहानदेखि गरिब, असहायलाई दान गरिन्छ । 

बिहान हुना साथ आशीर्वाद लिनेदिने गरी माघीको रौनकता सांस्कृतिक कार्यक्रममा परिणत हुने थारु अगुवा रामवली चौधरीले बताउनुभयो । थारु कल्याणकारी सभाका केन्द्रीय परिषद् सदस्य खुसीराम चौधरीले हरेक वर्ष माघीको अवसरमा रुपन्देहीका विभिन्न स्थानमा माघी महोत्सव आयोजना हुँदै आएको बताउँदै यसले थारु समुदायको संस्कृति संरक्षणमा टेवा पुर्‍याउने उल्लेख गर्नुभयो ।     

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर