दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित थप तीनजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने (गोंगबुस्थित नमोबुद्ध गेस्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार प्रधान र तामाङलाई काठमाडौं टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो। पक्राउ परेका तीनैजनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सिआइबीले जनाएको छ।