नेभिगेसन मेनु

संविधानले समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-20 16:49

8_14

काठमाडौँ, असोज ३ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको बताउनुभएको छ । उहाँले संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, हाम्रो संविधानले राज्यको सबै तह र तप्कालाई सबै नागरिकहरूलाई समान र समन्यायिक पहुँच सुनिश्चित गर्दै शासन प्रणालीमा जनताको अधिकतम प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । यसलाई यथार्थमा परिणत गर्ने प्रमुख माध्यम आवधिक निर्वाचन हो, जुन लोकतान्त्रिक शासन प्रणालीको सारभूत पक्ष पनि हो । 

कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्दै समतामूलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

उपप्रधान एवम् रक्षामन्त्री समेत रहनुभएका खड्काले अबको देशको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताउनुभयो । 

उहाँले भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब सबै थप समर्पण भावका साथ जुट्नुपर्ने बताउनुभयो । 

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले स्वास्थ्य, पूर्वाधार एवम् सेवाहरूको बिस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्न सक्दो प्रयास गरिरहेको समेत उल्लेख गर्नुभयो । 

उहाँले डेंगु रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको पनि बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले देशको पूर्वी पहाडी भूभाग लगायत विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो जस्ता विपद्का कारण भएको जनधनको क्षतिमा तत्काल राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रदेश र स्थानीय तहको समेत समन्वयमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । 

उहाँले संविधानको मर्म र भावना बमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरिएको बताउनुभयो । 

कार्यवाहक प्रधानमन्त्री खड्काले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको बताउनु भयो । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानप्रति आग्रह र पूर्वाग्रह नराखी नागरिकको हितमा जुट्न आह्वान गर्नुभयो । 

कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । उहाँले संविधान देशको मूल कानुन हुनका साथै सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण भएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर