नेभिगेसन मेनु

भारतले खेल जित्यो, नेपालले संसारको मन
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-05 13:27

दुईपटक विश्वकप उचालिसकेको क्रिकेट महारथी भारतसँगको पहिलो भिडन्तमै नेपालले सम्मानजनक प्रदर्शन गरेको छ । भारतको भन्दा ४४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा जारी एसिसी एसिया कपमा टेस्ट राष्ट्र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गरेको हो । पराजय भोगे पनि विश्व क्रिकेटका अब्बल खेलाडीले भरिएको भारतीय टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे ।

भारतविरुद्ध नेपाली खेलाडीले गरेको ब्याटिङ कौशलको क्रिकेटविज्ञदेखि दर्शकसम्मले प्रशंसा गरेका छन् । यसअघि गत बुधबार नेपालले विश्व क्रिकेट वरीयताको नम्बर एक पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । क्रिकेटका दुई शक्तिराष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपालले संसारभर आफूलाई चिनाउने मौका पाएको छ भने खेलाडीले अवसरसँगै अनुभव बटुलेका छन् । यी खेलसँगै नेपालले आफू क्रिकेटको उदीयमान राष्ट्र रहेको संकेत पनि गरेको छ । 

भारतविरुद्ध मैदानमा धैर्यसहित सशक्त प्रदर्शन गर्दै नेपाली टोलीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो । नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । आसिफले ९७ बलमा ५८ रन बनाए । कुशल ३८ रन बनाएर पेभेलियन फर्किए । यसै खेलबाट भुर्तेलले करिअरको एक हजार रन पूरा गरेका छन् । आठौँ नम्बरमा क्रिजमा आएका अलराउन्डर सोमपाल कामीले ४८ रनको इनिङ्स खेले । दीपेन्द्रसिंह ऐरी र सोमपालबीच सातौँ विकेटको लागि ५० रनको साझेदारी भएको थियो । दीपेन्द्रले २९ रनको योगदान गरे । 

तर, बलिङतर्फ खेलाडी चल्न नसक्दा नेपाल १० विकेटले पराजित भयो । विश्व क्रिकेटमा तहल्का मच्चाएका भारतीय कप्तान रोहित शर्मा र सुभमन गिलले एक सय ४५ रनको लक्ष्य विनाविकेट क्षतिमा पूरा गरे । भारतले दुई सय ३१ रनको लक्ष्य पछ्याउँदा वर्षा भयो । २.१ ओभरमा भारत १७ रन बनाएर खेलिरहँदा खेल करिब एक घन्टा रोकिएको थियो । पुनः सुरु भएको खेलमा भारतले एक सय ४५ रनको नयाँ लक्ष्य पाएको हो । 

कप्तान रोहित र सुभमनले सानदार प्रदर्शन गर्दैै नेपालविरुद्ध १७ बलअघि जित निकालेका थिए । रोहितले ५९ बलमा ६ चौका र पाँच छक्काका साथ ७४ रन बनाए । सुभमनले ६२ बलमा आठ चौका र एक छक्कासहित ६७ रन बनाए । करण केसी, सोमपाल, ललित राजवंशी, सन्दीप लामिछाने, दीपेन्द्र, कुशल मल्ल र गुल्सन झा भारतविरुद्ध विकेटविहीन भए । 

नेपाली कप्तान रोहित पौडेलले मध्यक्रममा ब्याटिङ राम्रो हुन सकेको भए खेल नेपालको पक्षमा आउने सम्भावना रहेको बताए । ‘दुवै ओपनरले धेरै राम्रो खेले । मध्यक्रममा राम्रो हुन सकेन । हामीले अझै राम्रो गर्न सक्थ्यौँ । थप ३०–४० रन बढाउनुपथ्र्याे । २६०–२७० सम्म पुगेको भए खेल हाम्रो पक्षमा आउन सक्थ्यो,’ उनले भने । खेलपछि भारतीय कप्तान रोहित शर्माले पनि नेपालले सुरुमा आफूहरूलाई दबाबमा राखेको प्रतिक्रिया दिए । ‘नेपालविरुद्ध हामी सुरुमा केही दबाबमा पर्‍यौँ । बिस्तारै आफ्नो लय फर्काउन सफल भएका थियौँ । नेपालविरुद्ध बलिङ राम्रो भए पनि फिल्डिङमा चुक्यौँ,’ उनले भने । 

नेपालले टेस्ट राष्ट्रसँग खेलको यो पाँचौँपटक हो । समूह ‘ए’को अघिल्लो खेलमा पाकिस्तानविरुद्ध खेलेको थियो । यसअघि विश्वकप छनोटमा जिम्बाबे, वेस्टइन्डिज र आयरल्यान्डसँग खेलिसकेको छ । सबै टेस्ट प्रतिद्वन्द्वीसँगका खेलमा नेपालले हारको सामना गर्‍यो । 

आसिफको अर्धशतक 

श्रीलंकाको क्यान्डीमा टस हारेर ब्याटिङ गरेको नेपालको इनिङ्मा ओपनर आसिफले अर्धशतक बनाएका छन् । आसिफले ९७ बलमा आठ चौकासहित ५८ रन जोडेर पेभिलियन फर्किए । यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन पूरा गरेका थिए । आरिफको खेल करिअरकै दशौँ अर्धशतक हो । यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नवौँ अर्धशतक बनाएका छन् । सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए । आसिफको व्यक्तिगत उच्च रन एक सय १० हो । 

भारत सुपर फोरमा

कप्तान रोहित र शुभमन गिलको सानदार प्रदर्शनसँगै भारत सुपर फोरमा प्रवेश गरेको छ । यसअघि पनि वर्षाले खेल प्रभावित भएपछि भारतले पाकिस्तानसँग अंक बाँडेको थियो । समूह ‘ए’बाट पाकिस्तान विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । भारत र पाकिस्तानको समान तीन अंक भए पनि नेट रनरेटमा पाकिस्तान माथि छ । नेपाल भने विनाअंक प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’बाट भने सुपर फोरको टुंगो लागेको छैन । समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । 

भारतसँगको प्रदर्शन सर्वाेत्कृष्ट : विनोद भण्डारी (ब्याट्सम्यान)

पहिलोपटक भारत र पाकिस्तानसँग खेलेका छौँ, यो हाम्रा लागि ठूलो अवसर हो । नेपाली टोलीले प्रदर्शन पनि राम्रो गरेको छ । स्कोर पनि दुई सय ३० रन राम्रो भयो । भारतसँग यत्तिको स्कोर निकाल्नु उत्कृष्ट प्रदर्शन हो । यसले हामीजस्तै अरू एसोसियट राष्ट्रलाई पनि हौसला मिल्छ । ब्याटिङमा खेलाडीले खुलेर खेलेका छन् । ओपनर कुशल भुर्तेलको इनिङ लामो हुन सक्थ्यो । आसिफले ५० रन हानेपछि अझै समय लिएको भए हुन्थ्यो । जसको फाइदा टिमलाई हुन्थ्यो । पाकिस्तानसँग पनि समग्रमा राम्रो भएको हो । बलिङअनुसार ब्याटिङमा राम्रो गर्न सकेनौँ । 

क्रिकेट खेल्छ भन्थे, राम्रो गर्‍यौँ : उत्तम कर्माचार्य (पहिलो कप्तान)

नेपालले पनि क्रिकेट खेल्छ र भन्ने सोच थियो । अब, राम्रो खेल्छ भन्ने छिमेकीलाई परेको छ । उनीहरूले पनि नेपाली क्रिकेट विकासमा सोच्नुहुन्छ । भारतविरुद्ध ब्याटिङ राम्रो भयो । नेपाल पनि राम्रो टोलीसँग खेल्न सक्छ भन्ने सन्देश गएको छ । नेपाली खेलाडीले राम्रो अवसर र अनुभव पनि बटुलेका छन् । नेपाली क्रिकेटको भविष्य विश्वभर राम्रो देखिएको छ । अब, पूर्वाधारमा ध्यान दिनुपर्छ । 

विश्व क्रिकेटमा हामीले राम्रो छाप राख्यौँ  : पवन अग्रवाल (पूर्वकप्तान)

पाकिस्तानसँगको भन्दा भारतविरुद्ध धेरै राम्रो खेलेका छन् । पाकिस्तानविरुद्ध ब्याटिङ राम्रो भएको थिएन । भारतविरुद्ध ओपनिङमा भाग्यशाली पनि रह्यौँ । र, राम्रो पनि भयो । सोमपालले राम्रो प्रदर्शन गरे । कुनै पनि स्थितिमा राम्रो ब्याटिङ गर्न सक्छु भन्ने सन्देश दिएका छन् । सबै क्रिकेटविज्ञले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिएका छन्, प्रशंसा गरेका छन् । विश्व क्रिकेटमा हामीले राम्रो सन्देश दिएका छौँ ।

हामी कम छैनौँ भन्ने सन्देश गयो : शरद भेषवाकर (ब्याट्सम्यान)

नेपाली खेलाडीले राम्रो खेले । अन्तर्राष्ट्रिय धेरै कमेन्टेटरले राम्रो भनेका छन्, खुलेर प्रशंसा गरेका छन् । पाकिस्तानविरुद्ध धेरै समय टिक्न सकेनौँ । तर, भारतविरुद्ध जसरी खेलेको छ, मलाई लाग्छ धेरै सुधार भएको हो । भारतसँग खेल्दा प्रदर्शन गर्दा हामी कस्तो क्रिकेट खेल्छौँ भन्ने थाहा भयो । हामी राम्रो खेल्न सक्छौँ भन्ने सन्देश गएको छ । भारतका सिराज र सामीजस्ता बलरलाई जसरी खेल्यौँ त्यसले विश्वका उत्कृष्ट बलरसामु हामी कम छैनौँ भन्ने देखाएका छौँ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर