तुलसीपुर– १ को ठाँटीगाउँदेखि बजारसम्म आउनका लागि करिब १२ किलोमिटर यात्रा गर्नुपर्थ्याे । तर वडा नम्बर १ र ३ जोड्ने भमके खोलामा पुल बनेपछि दूरी घटेको छ । पुल बनेपछि ठाँटीगाउँबाट वडा नम्बर १ र वडा नम्बर ३ को भट्टे हुँदै तुलसीपुर बजारसम्म आउन सहज हुने भएको छ । सल्यान जिल्लाको लुहाम पुग्नका लागि अब दूरी घट्ने भएको छ ।
तुलसीपुरको अश्वार हुँदै भट्टे, कालीमारे, मखनटाकुरी हुँदै सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका लुहाम जोड्ने सडकखण्ड अन्तर्गत भमके खोलामा पुल नहुँदा वर्षायाममा यात्रा गर्नका लागि सहज भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माका अनुसार त्यस सडकखण्डमा पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहज भएको छ । तुलसीपुरबाट सल्यान जिल्लामा पुग्नका लागि तीन वटा सडक छन् । वडाध्यक्ष विश्वकर्माले राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्ड पहिरोका कारण निकै जोखिममा रहेकाले यस सडकखण्ड सल्यानका पुग्नका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोगमा सकिने बताउनुभयो । उहाँले पुल निर्माण भएपछि सल्यान जिल्लामा पुग्ने यात्रुका लागि अब वर्षायाममा समेत यात्रा गर्न सहज भएको जानकारी दिनुभयो ।
वडा नम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटाले पुल निर्माण भई सञ्चालनमा आएपछि वर्षायाममा आवतजावत गर्न हुने कठिनाइ समाधान भएको बताउनुभयो । त्यस्तै, तुलसीपुरको वडा नम्बर ९ दोघर्रे, प्रतापकोट हुँदै सल्यानको फलावाङसम्म पुग्नका लागि सडक छ । सल्यान जिल्लामा तुलसीपुरबाट पुग्नका लागि दूरीका दृष्टिकोणले सबैभन्दा कम दूरीको सडकखण्ड दोघर्रे प्रतापकोट सडक खण्ड छ ।
उक्त सडकबाट सल्यान, रुकुम र जाजरकोटसम्म पुग्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिकाको दुई करोड ६४ लाख ५८ हजार ९६८ रुपियाँको लागतमा भैरव निर्माण जेभीले पुलको निर्माण गरेको हो ।