प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजे सुरू भएको बैठकमा नेकपा एमाले सांसदहरूले अवरोध जनाएपछि बैठक स्थगित भएको हो।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
सांसद साह बोल्दाबोल्दै सत्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गर्नुभयो । सभामुखले नियमको पालना गर्न र सबैलाई सिटमा बस्न आग्रह गर्नुभयो । सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेपछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।