नेपाल चीन मैत्रीपुर्ण ड्र्यागन बोट रेस फेस्टिबलको तयारीले तिब्रता पाएको छ। तस्बिर-एस् ए टि भी
पोखराको फेवातालमा यहि असार ८ र ९ गते हुन गइरहेको नेपाल चीन मैत्रीपुर्ण ड्र्यागन बोट रेस फेस्टिबलको तयारी भैरहेको छ। फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगीहरूको सहभागिता रहने छ। दुई सय र पाँच सय मिटर गरी दुई भागमा आठ वटा डुंगाबाट रेस हुनेछ। चार वटा डुंगामा नेपाली र चार वटा डुंगामा चीनका प्रतिस्पर्धी रहने छन्।
यस फेस्टिभलका लागि आठ वटा चिनियाँ डुंगा पोखरा ल्याएर प्रतिस्पर्धाका लागि प्रशिक्षण भइरहेको छ। यतिबेला नेपाली खेलाडिहरूलाई चिनियाँ प्रशिक्षकले नै प्रशिक्षण गराइरहेका छन। आफ्नो लागि नौलो अनुभव भएका कारण चिनियाँ प्रशिक्षकद्वारा तालिम लिन पाउँदा नेपाली खेलाडिहरु पनि निक्कै हर्षित देखिन्छन।
नेपालमा चाइना ड्र्यागन बोट एसोसिएसनका अन्तर्राष्ट्रिय दोस्रो दर्जाका प्रशिक्षक वाङ फुजुनले साउथ एसिया नेटवर्क टिभीसँगको अन्तर्वार्तामा चीनको खेलकुद राज्य प्रशासन र नेपालमा चिनियाँ दूतावासले यस कार्यक्रमलाई निकै महत्व दिएको जानकारी गराए। “मेरो मुख्य भुमिका भनेको प्रारम्भिक प्रशिक्षण र नियमबारे नेपाली सहभागीहरुलाइ जानकारी गराउनु हो र साथै उपादी जित्नका निमित्त नियमको कडा पालना गराउनु हो।” उनले थप बताए।
ड्र्यागन बोट रेसका लागि पहिलो पत्रकार सम्मेलन जेठ २५ गते काठमाडौंमा गरिएको थियो जस्मा प्रतियोगिताको औपचारिक लोगो साथै नेपाल-चिन मैत्रीपुर्ण ड्र्यागन बोटको रेसको प्रोमोस्नल भिडियो सार्वजनिक गरिएको थियो भने रेसका लागि दोस्रो पत्रकार सम्मेलन असार १ गते पोखरामा गरिएको थियो ।
पोखरामा भएको दोस्रो पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावासका उप महासचिव वाङ सिनले यस कार्यक्रमले दुई देशका जनताबीचको आपसी समझदारीलाई थप प्रगाढ बनाउनेछ, चीन–नेपाल मैत्री ड्र्यागन बोट रेसको आयोजनाले ड्रागन बोटको संस्कृतिलाई धेरै भन्दा धेरै मानिसहरूले बुझ्न सक्नेछ जसले गर्दा संस्कृतिको विरासत र प्रवर्द्धनका साथै चीन र नेपालबीचको मित्रता र आदानप्रदानलाई अभिवृद्धि गर्न सकिने विश्वास ब्यक्त गरेका थिए।
प्रतियोगितामा नेपाली र चिनियाँ गरि जम्मा ८ वटा समुहले सहभागिता जनाउने छ भने बिजेतालाइ ३० लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पाहुना लिएर छेन्दुक सहरबाट असार ६ गते विमान आउन लागेको हो। सिचुवान एयरलाइन्सको विमानले अन्तर्राष्ट्रिय उडानका रूपमा पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो।
यो फेस्टिभल नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन महोत्सवको सह-आयोजक रहेका छन।