मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि डिस्चार्ज भएका छन् । मंगलबार बिहान छाती दुखेपछि मुटुको परीक्षणका लागि उनलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियाे ।
२४ घन्टा चिकित्सकको निगरानीमा रहेका उनी आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दम र ग्याष्ट्रिकबाट पीडित राष्ट्रपति पौडेलको स्वास्थ्यमा मंगलबार बिहान ७ बजेतिर समस्या देखिएको थियो ।
पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको थियाे । मुटुको परीक्षणका लागि उनको एनजिओग्राम गरिएको अस्पतालले जनाएको छ । एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो रहेको सचिवालयले जानकारी दिएको छ ।
गंगालालका निर्देशक डा.अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरेकाे हाे । एनजिओग्राम गरेपछि २४ घन्टा अवलोकनमा राख्नुपर्ने भएकाले राष्ट्रपतिलाई भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।