काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । दम र ग्याष्ट्रिकबाट पीडित पौडेललाई छाती दुख्ने समस्या देखिएपछि मंगलबार विहान ७ बजे काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।
अहिले उनको मुटुको परीक्षण भइरहेको छ । सचिवालयकाअनुसार एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो छ । पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार भइरहेको छ । गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ।
यसअघि शनिबार पनि पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो । यसअघि वैशाखको पहिलो साता पनि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।
त्यसपछि उनलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।