संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक भोलिका लागि सरेको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
महासचिव गौतमका अनुसार राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नहुने भएपछि बैठक सारिएकाे बताइएकाे छ । प्रधानमन्त्री प्रचण्ड आद्यात्मिक सम्मेलनका लागि आज खप्तड गएका छन् ।
आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।