जिल्ला अदालत काठमाडौले आइतबारदेखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको थुनछेक बहस सुरु गर्ने तयारी गरेको छ । शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूमध्ये अन्तिम तीन जनाको बयान लिने काम भइरहेको छ ।
बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान जारी छ । हालसम्म १२ प्रतिवादीको बयान लिइसकिएको र बाँकी अभियुक्तको बयानपछि सक्ने गरी अदालतले प्रक्रिया अघि बढाएको छ । 'आज तीन जना अभियुक्तको बयान सकियो भने आइतबारबाट थुनछेक बहस सुरु गर्ने तयारीमा छौँ', जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले भने ।
प्रकरणमा जेठ १२ गतेदेखि बयान सुरु भएको थियो । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री खाँणसहित १७ जना पक्राउ परेका छन् । आरोपितमध्ये १३ जना अझै फरार छन् । सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्ने तयारी गरेका छन् भने प्रतिवादीका तर्फबाट करिब ५० जनाभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन् ।
पक्राउ परेका अधिकांशले दुईभन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिएको छ । सो मुद्दामा ३० जना प्रतिवादी छन् । थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ ।