काठमाडौं महानगरपालिकाले वडा १६ बालाजुमा रहेको कोतःधुकु आयल स्टोरमा सिलबन्दी गरेको छ । ६ वैशाखको प्रमुखस्तरीय निर्णयअनुसार बिहीबार आयल स्टोरमा सिलबन्दी गरिएको हो ।
महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार नेपाल आयल निगमको साधारण विक्रेता रहेको यो आयल स्टोरसँग पेट्रोलियम पदार्थ बिक्री गर्ने मापदण्ड नपुगेकाले सिलबन्दी गरिएको हो । घरको सटरबाटै पम्प सञ्चालन गरिएको पाइएपछि सिलबन्दी गरिएको उनले बताए ।
यसलाई जाली र फलामे साङ्लोले बेरेर सिल गरिएको छ । निगमले पनि यस स्टोरलाई ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली, ०७५ (प्रथम संशोधनसहित)’ अनुसार रहको भन्दै तत्काल स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेको थियो ।
महानगरमा पम्प सञ्चालन गर्न कस्तो छ मापदण्ड ?
काठमाडौं र ललितपुर महानगरपालिकाभित्र सात सय ५० वर्ग मिटर वा एक रोपनी आठ आना जग्गा भए मात्रै पम्प सञ्चालन गर्न पाइन्छ । यसमा सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित बिक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ ।
बिक्रीस्थलभित्र तीनतिर पम्प बिल्टअप लेबलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाइमा इँटा वा ढुंगाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिंक फेन्सिङ लगाएको हुनुपर्छ । रिफ्युलिङ जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ, वफर स्ट्राइप, डिस्पेन्सिङ पम्प जडानलगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ । सवारीसाधन पार्किङको सुविधा, शौचालय, प्राथमिक उपचार, अग्नि सुरक्षालगायतका प्रणाली अनिवार्य छन् ।