नेभिगेसन मेनु

तीन-तीन महिनामा फेरिन्छन् वाग्मती सभ्यता प्रमुख
सम्पादक:南亚网络电视
समय:2023-04-27 12:35

thumb

काठमाडौँ — सहसचिव दिलीप भण्डारी गत साउन १२ मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको प्रमुखमा सरुवा भए । दुई महिना नहुँदै असोज ६ मा उनी फिर्ता भए । त्यसपछि सहसचिवको दरबन्दी रहने प्रमुखमा उपसचिव सुवास बस्नेतलाई पठाइयो ।

उनलाई पनि सरकारले तीन महिना २० दिनमै फिर्ता बोलायो र पुस २८ मा सहसचिव रवीन्द्र बोहरालाई पठायो । समितिमा यो उनको दोस्रो कार्यकाल हो ।

वाग्मती सभ्यता समिति सहरी विकास मन्त्रालयअन्तर्गत पर्छ । वाग्मती सभ्यता समितिले एसियाली विकास बैंक (एडीबी) र सरकारी अनुदानसमेतबाट वाग्मती खोलालाई स्वच्छ र सफा राख्ने, ट्रिटमेन्ट प्लान्ट बनाउने, समग्र वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्नेलगायत शीर्षकमा बर्सेनि डेढदेखि तीन अर्ब बजेट खर्च गर्दै आएको छ । त्यहाँका प्रमुख समितिको सदस्य सचिव, एडीबीको प्रोजेक्ट डाइरेक्टर तथा वाग्मती आयोजनाको निर्देशकका रूपमा रहने व्यवस्था छ । तर कार्यकारी अधिकार भएका प्रमुखलाई सरकारले मनोमानी हेरफेर गर्दै आएको छ । ०७४ जेठयता मात्र समितिमा ११ प्रमुख भइसकेका छन् ।

सहरी विकास मन्त्रालय, त्यसअन्तर्गतका भवन विभागमा समेत कर्मचारी सरुवाको यस्तै बेथिति देखिन्छ । सहरी विकास मन्त्रालयका एक पूर्वसचिवले छोटो समयमा सरुवा गर्नुको उद्देश्य सही नरहेको बताए । ‘करोडौं रुपैयाँ बजेट देखेपछि सबैको आँखा लाग्ने नै भयो । होइन भने दुई महिनामा कुनै पनि विभागीय प्रमुखले के काम देखाउन सक्छ ?’ उनले भने । विदेशी सहयोग खर्च गर्न पाउने र अस्थायी कर्मचारी राख्न सक्ने भएकाले समितिमा आकर्षण बढेको उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १५ मा सहरी विकासका नासु (स्टोरकिपर) युवराज गिरीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको थियो । गिरीले सहरी विकास छाड्न चाहेका छैनन् । उनलाई सहरी मन्त्रालयले रमाना दिने आँट पनि गरेको छैन । उनी सहरी विकास मन्त्रालय स्थापना भएदेखि नै त्यहीं छन् । २०७२ को भूकम्पका बेला त्रिपाल खरिदसम्बन्धी अनियमिततामा संलग्न आरोप लागेर उनी तीन वर्ष निलम्बनमा परेका थिए । सफाइ पाएपछि उनी त्यही मन्त्रालयको स्टोरमा छन् ।

स्टोरकिपरको पदमा कति आकर्षण छ भन्ने गत पुसमा भएको अर्को घटनाले देखाउँछ । वाग्मती समितिका तत्कालीन प्रमुख सुवास बस्नेतले गत पुस ७ गते साँझ एक कर्मचारीलाई आफ्नै गाडीमा राखेर कार्यालय लगे । त्यसपछि बस्नेतले आफ्नै टेबुलमा हाजिरखाता राखेर कार्यालय समय सकिएपछि उनलाई हस्ताक्षर गराए । पछि थाहा भयो, स्टोरकिपरमा नासु प्रेम विश्वकर्मालाई सरुवा गरेर ल्याइएको रहेछ ।

स्टोरकिपर दीपक सुवेदीलाई सरुवा गरेर विश्वकर्मालाई ल्याइएको थियो । सुवेदीले रमाना लिन मानेनन् । सरुवा रद्द गर्नुपर्ने दबाब मन्त्रालयका सचिव सुरेश आचार्यमाथि पर्‍यो । पछि विश्वकर्मा आफैं अन्यत्र गए । स्रोतका अनुसार हाल उपसचिव बस्नेत र स्टोरकिपर विश्वकर्मालाई पुनः वाग्मती पठाउने तयारी गरिएको छ । ‘उपसचिव बस्नेतले सहसचिवको दरबन्दी भएको वाग्मतीमा प्रमुख हुन लबिइङ गरिरहेका छन्,’ स्रोतले भन्यो ।

सहरी विकास मन्त्रालयको महाशाखामा झन्डै चार महिनादेखि एउटै पदमा दुई प्रमुख छन् । सहसचिव रामचन्द्र दंगाललाई सहरी मन्त्रालयको महाशाखा प्रमुखमा गत मंसिर अन्तिम साता सरुवा गरिएको थियो । तर उनले काम मात्र होइन, बस्ने कोठा र कुर्सीसमेत पाएका छैनन् । उक्त महाशाखाको प्रमुखमा गत साउनदेखि नै पदम मैनाली कार्यरत छन् । राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्रमा सरुवा गरिएका मैनाली नगएपछि महाशाखामा दुई सहसचिव भएका हुन् ।

सहसचिव मैनालीलाई तत्कालीन सहरीमन्त्री मेटमणि चौधरीले सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट गत साउनमा सहरी महाशाखामा सरुवा गरेका थिए । चौधरीले मन्त्रीबाट हट्ने बेला मैनालीलाई अनुसन्धान केन्द्रमा सरुवा गरे । मन्त्रालयमा हाल कार्यरत १३ सहसचिवमध्ये मैनाली वरिष्ठ हुन् ।

मैनालीलाई हटाइएपछि भवन विभागको महानिर्देशकमा नियुक्ति गरिएका सहसचिव दंगाललाई गत साउन २६ मा सहरी मन्त्रालय तानिएको थियो । स्रोतका अनुसार एउटै पार्टीका भए पनि चौधरी र त्यसअघिकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबीच द्वन्द्व थियो । रामकुमारीको मान्छे भन्दै चौधरीले दंगाललाई विश्वास गरेनन् । झाँक्रीको कार्यकालमा विभागको महानिर्देशक भएका दंगाललाई मन्त्री चौधरीले मन्त्रालय तानेर भवन आवास र योजना महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए ।

चौधरीले महानिर्देशकमा भने सुरेन्द्रमोहन श्रेष्ठलाई पठाएका थिए । मन्त्रीको इच्छाअनुसार मात्र महानिर्देशक, मन्त्रालयका महाशाखा प्रमुख र वाग्मती समितिको प्रमुख तोकिने गरेको अधिकारीहरू बताउँछन् । दंगाल प्रमुख भएको आवास तथा योजना महाशाखाको जिम्मेवारी कनिष्ट सहसचिव दिलीप भण्डारीलाई दिएको स्रोतको दाबी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर