सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ। आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
बैठकपश्चात तिमिल्सिनाले भने,‘आजको एउटै मात्रै एजेण्डा थियो, प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा । त्यो विषयमा छलफल मात्रै भयो, कुनै निर्णय भएन।’
प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सिंहदरबारमा संवैधानिक परिषद्को बैठक आह्वान गरेपछि बुधबार बिहान बैठक बसेको हो। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दीरा राणामगर, उपप्रधान एवम् रक्षा तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।