मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरूद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटिकामा प्रहरीसँग झडप हुँदा घाइते समेत भएका उनीहरुले मंगलबार गृहमन्त्री श्रेष्ठविरुद्धमा नाराबाजी गर्दै उनको राजीनामाको माग समेत गरेका छन् ।
आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नुपरेको उनीहरुले बताएका छन् ।
सोमबार काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए । उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन् ।