काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ । महानगरपालिकाले फोहोर नउठाउने भनेपछि तत्कालिन समाधानका लागि भन्दै मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको हो ।
मेयर शाहले फोहोर नउठाउने घोषणा गरेपछि महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाएको छैन । त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ । महानगरपालिकाले फोहोर उठाउन छोडेपछि सहरी विकास मन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
मन्त्रीस्तरीय निर्णयकाआधारमा कार्यालयले परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेर फोहोर उठाउन थालेको हो । ‘काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ,’ मन्त्रालयले भनेको छ ।
नेपालको संविधानको अनुसूची ८ र आधारभूत सफाइ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम फोहोरमैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हो । तर, काठमाडौं महानगरपालिकाले फोहोर मैला व्यवस्थापनका सन्दर्भमा संघीय सरकारले विगतमा भएका सहमति पालना नगरेको भन्दै फोहोरमैला व्यवस्थापन कार्य रोकेको छ । मन्त्री गुरुङले काठमाडौं महानगरपालिका आफ्नो जिम्मेवारीबाट पछि हटेको अवस्थामा सिंहदरबारलाई फोहोरबाट दुर्गन्धित हुन नदिन वैकल्पिक उपाय रोज्नुपरेको बताइन् ।
‘यो दिगो समाधान होइन, संविधान र कानूनबमोजिम फोहोरमैलाको व्यवस्थापन गर्ने काम स्थानीय तहकै हो । यसमा शहरी विकास मन्त्रालयको जिम्मेवारी भनेको समन्वयकारी भूमिका मात्रै हो,’ मन्त्री गुरुङले इकान्तिपुरसँग भनिन्, ‘हामी समन्वयकारी भूमिका खेल्छौँ, यो समस्या समाधानका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरेर समस्या समाधानको प्रयास भइरहेको छ ।’ उनले फोहोरमैला व्यवस्थापनलाई विषय बनाएर राजनीति गर्नु उपयुक्त नभएको समेत बताइन् ।
काठमाडौं महानगरपालिकाले काठमाडौंमात्रै होइन, उपत्यकाका १८ वटा स्थानीय तहहरूको फोहोर मैला व्यवस्थापनको नेतृत्व गर्दै आएको छ । यहाँको फोहोर काठमाडौं, धादिङ र नुवाकोटको सीमा क्षेत्रस्थित ककनी गाउँपालिकाको बञ्चरेडाँडामा लगेर डम्पिङ गर्ने गरिएको छ ।