नेभिगेसन मेनु

घोराही उपमहानगरमा बेथिति बढ्यो, विकास निर्माण अलपत्र
सम्पादक:南亚网络电视
समय:2023-04-06 13:28

Untitled-1

निर्माण व्यवसायीसँगै स्थानीय सरकारको लापरबाहीका कारण घोराही उपमहानगरपालिका क्षेत्रको सडक तथा अन्य विकास निर्माणका योजनाको प्रगति शून्यजस्तै छ । उपमहानगरपालिकामा सडक विस्तारसँगै कालोपत्रे गर्ने, भवन तथा नाला निर्माणलगायत दर्जनभन्दा बढी योजना पटक–पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेका छैनन्। 

घोराही मुख्य बजारमा रहेको १२ सय मिटर सडक कालोपत्रे छ महिनामा सक्ने गरी सम्झौता भएको दुई वर्ष बित्न लाग्दासमेत हुनसकेको छैन । उपमहानगरपालिको भवन निर्माणदेखि वडा नं. १० को नारायणपुर स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन। 

अन्डरग्राउन्ड पार्किङ र लिफ्टसहितको सुविधा सम्पन्न पाँचतले प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । २० करोड रुपियाँ लागतमा भवन निर्माणका लागि २०७८ वैशाख ६ गते टेन्डर आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा गौरी–पार्वती/भुसाल बस्नेत जेभीले लिएको हो। ठेक्का सम्झौताअनुसार २०८० वैशाख ३० गतेसम्म भवन निर्माण भइसक्नुपर्ने थियो तर निर्माण व्यवसायीले निर्माण कार्यमा चासो नदेखाएपछि दुई वर्षयता उपमहानगरको प्रशासनिक भवन जमिनभन्दामाथि उठ्न सकेको छैन । 

घोराही उपमहानगर–१० को नारायणपुरमा स्वास्थ्य चौकी भवन निर्माण गर्ने भन्दै २०७८ माघमा रोयल बिल्डर्स् प्रालिलाई जिम्मा दिइयो । ६४ लाख ४४ हजार रुपियाँको लागतमा २०७९ असार ३० गतेसम्म निर्माण सक्ने गरी जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म काम सुरु गर्नु त परै जाओस् सम्पर्कमै नआएको उपमहानगरका इन्जिनियर सन्दीप घिमिरेले बताउनुभयो। 

उपमहानगरकै वडा नं. ९ र ११ अन्तर्गत पर्ने खैरा–कोठरी सडक कालोपत्रेको काम पनि पूरा हुन सकेको छैन । सडकखण्डअन्तर्गतको बाँकी रहेको सडक कालोपत्रे गर्न २०७८ माघको ७ गते रोयल बिल्डर्स प्रालिसँग एक करोड दुई लाख रुपियाँमा सम्झौता भएको थियो । 

सो सम्झौताअनुसार करिब ११ सय मिटर सडक आगामी असार महिनाभित्रमा सक्नुपर्ने हुन्छ तर पनि काम नै सुरु भएको छैन । उपमहानगरपालिकाको मुख्य बजारमा पर्ने नेपाल बैङ्कदेखि जिल्ला प्रशासन कार्यालयसम्मको १२ सय ४४ मिटरको सडक विस्तारसँगै कालोपत्रे गर्ने काममा पनि ढिलाइ भएको छ । छ महिनामा सडक विस्तारसँगै कालोपत्रे गर्ने गरी २०७७ साल माघ ८ गते निर्माण सम्झौता भएको थियो । 

यो सम्झौताअनुसार २०७८ असार ३१ गतेसम्म काम सक्नुपर्ने थियो तर अझै सडक कालोपत्रे हुन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद यही चैत ३० गते सकिँदै छ। 

त्यस्तै भानुचोकदेखि गुलरिया पार्कसम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने भनिए पनि विभिन्न समस्या देखाउँदै निर्माणको कामले पूर्णता पाउन सकेको छैन । करिब १९ सय मिटर लामो यो सडक बजारको मुख्य सडक भए पनि निर्माण व्यवसायीकै लापरबाहीका कारण पूर्णता पाउन नसकेको हो। केही समयअघि सडक कालोपत्रे सुरु भए पनि सडकको लेभल र गिट्टीको आकार नमिलेको पाइएपछि घोराही उपमहानगरपालिकाले काम रोक्न निर्देशन दिएको थियो । ल्याब परीक्षणपछि अहिले गिट्टीको आकार घटाएर कालोपत्रे गर्ने काम सुरु गर्ने तयारी भइरहेको छ। 

उपमहानगरपालिकाले २०७९ साल जेठमा असार महिनासम्म खिरटिया–लखवार–खैरानगर–कप्तानचोक–डाँगीगाउँ जोड्ने सडक कालोपत्रे गरिसक्ने गरी ऊर्जा कृषव जेभीसँग सम्झौता ग-यो । सो सम्झौताअनुसार ७० लाख ८६ हजार रुपियाँ बजेटमा उक्त निर्माण कम्पनीले एक महिनाको अवधिमा ११ सय मिटर सडक प्रिमिक्स पिच गर्नुपर्ने थियो । 

तर काम हुन नसकेपछि पहिलो पटक छ महिना म्याद थप गरिएको थियो। काम कछुवाको गतिमा हुँदा थपिएको समयमा पनि काम नसकिएपछि दोस्रो पटक म्याद थपका लागि निर्माण कम्पनीले उपमहानगरपालिकामा निवेदन दिएको इन्जिनियर घिमिरेले बताउनुभयो। 

उपमहानगरपालिका–४ को गोग्ली मावि–लक्ष्मीपुर, पुरानो वडा कार्यालय–नारायणपुर–वनगाउँ जोड्ने सडक, बटलपुरदेखि वडा नं. १२ जोड्ने सडक, बीपी मार्ग–सुर्केडाँगी, सौँरी–थारूगाउँसहितका सडक कालोपत्रे प्याकेजका आयोजनाहरू २०७८ सालबाट सुरु भएका हुन्। 

उक्त सडकको कालोपत्रे गर्ने जिम्मा मस्ट वराह इन्फ्रा स्ट्रक्चर प्रालि काठमाडौँले पाएको थियो । एक करोड ३० लाख रुपियाँ लागतमा सुरु भएको उक्त सडक कालोपत्रे गर्ने काम अघि बढ्न सकेको छैन । उपमहानगरपालिका–४ को भकारेमा दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शय्याको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम पनि अधुरो नै छ। यो अस्पतालको शिलान्यास भएको दुई वर्ष बितिसकेको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर