नेभिगेसन मेनु

विपन्नका लागि बनाइएका घर रित्तै
सम्पादक:南亚网络电视
समय:2023-03-24 15:12

Untitled-1

घोराही, चैत १० गते । दाङको बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुरस्थित जङ्गल डाँडामा बनाइएका छवटा घर रित्तै छन् । वडाभित्र घर तथा जग्गा नभएका गरिब तथा विपन्न परिवारका लागि दुईकोठे घरहरू निर्माण गरिएको हो । 

निर्माण भएको लामो समयसम्म पनि कोही कसैले प्रयोग नगर्दा घरहरू जीर्ण बन्नुका साथै भत्किने अवस्थामा पुगेको वडा नम्बर–८ का वडाध्यक्ष झविन्द्र गाहामगर बताउनुभयो । 

“यहाँ बनाइएका सबै घर रित्तै छन्,” वडाध्यक्ष गाहामगरले भन्नुभयो, “बस्नका लागि उपयुक्त ठाउँ र घर नभएको भन्दै कोही पनि बस्न मान्नुहुन्न ।” घर निर्माणका क्रममा उपयुक्त ठाउँको छनोट नहुँदा करोडौँ रुपियाँ लगानी खेर जाने भएको छ । 

गाउँपालिकाले ती घरहरूमा गरिब र असहायको पहिचान गरी बसाल्ने जिम्मेवारी वडा कार्यालयलाई दिएको थियो, तर जङ्गल छेउमा बनाइएका घरमा कसैले पनि बस्न नमानेपछि यस्तो समस्या आएको वडाध्यक्ष गाहामगर बताउनुहुन्छ । “गरिब परिवारको पहिचान गरी बसाउने कोसिस गरेका थियौँ तर कसैले पनि बस्न मान्नुभएन,” उहाँले भन्नुभयो, “त्यसपछि ती घरहरू माध्यमिक विद्यालय हासीपुरमा अध्ययनरत विद्यार्थीका लागि होस्टेलका रूपमा प्रयोग ग¥यौँ । विद्यार्थी पनि बिरामी भएपछि बस्न छोडेका हुन् ।” 

कोही कसैले बस्न नमानेपछि लामो समयदेखि घरहरू खाली रहेका हुन् । घरको संरक्षण गर्नेसमेत मान्छे नहुँदा एउटा घरको जग भासिनुका साथै अर्काे घरको पल्ला नै झरेको जानकारी उहाँले दिनुभयो । 

यस पालिकाको वडा नं. ८ मा मात्रै होइन, वडा नं. २ मा पनि गरिबका लागि निर्माण गरिएका घरहरूको अवस्था उस्तै छ । बढीपोखरामा निर्माण गरिएका छवटा घर अहिलेसम्म रित्तै छन् । 

घरहरू निर्माणसँगै गरिब तथा असहाय परिवारको पहिचान गरिए पनि बस्न नमानेको २ नम्बर वडाध्यक्ष मैते पुनले बताउनुभयो । “हाम्रो वडामा पनि छवटा घर बनेका छन् तर कोही पनि बस्न मान्नुभएको छैन्,” वडाध्यक्ष पुनमगरले भन्नुभयोे । उहाँका अनुसार कोही पनि नबसेका कारण घरहरू जीर्ण बन्दै गएका छन् । सुरुमा दुई तीन परिवार बस्न थाले पनि पछि छोडेर हिँडेका हुन् । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नमुना बस्ती निर्माण योजनाअन्तर्गत बङ्गलाचुली गाउँपालिकाका चार स्थानमा दुई दुईकोठे ३० वटा भूकम्पप्रतिरोधी प्रिफ्याब घरहरू निर्माण गरेको थियो ।

सङ्घीय सरकारको दुई करोड र बङ्गलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोड रुपियाँको लागतमा निर्माण गरिएका अधिकांश घरहरू अहिले खाली अवस्थामा छन् । बस्नका लागि घर उपयुक्त नभएको र बस्तीदेखि टाढा एकान्त ठाउँमा निर्माण गरिएका कारण अधिकांश घर खाली रहेको भनाइ स्थानीयको छ । बङ्गलाचुलीले पाँच वर्षअघि वडा नं. ५ मा १२, वडा नं. २, ६ र ८ मा छ छवटा घर निर्माण गरेको थियो । 

निर्माण भएका ३० वटा घरमध्ये ११ वटामा मात्र गरिब र असहाय परिवार बसेको पालिकाका अध्यक्ष तुलसीराम पुनले बताउनुभयो । “गाउँपालिकाको अघिल्लो नेतृत्वले बनाएका घरमा बस्नका लागि अहिलेको नेतृत्वले पनि गरिब परिवारलाई आह्वान गरिरहेको छ । “तर कोही पनि बस्न इच्छुक हुनुहुन्न,” पालिका अध्यक्ष पुनले भन्नुभयो, “खाली रहेका घरमा आर्थिक रूपमा विपन्न, घरजग्गा नभएकाहरूलाई ल्याएर बसाल्ने प्रयत्न गरिरहेको छौँ ।” उहाँका अनुसार तीन करोड रुपियाँ लागत ३० वटा घर र १५ वटा शौचालय बनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर