नेभिगेसन मेनु

विद्युत् चुहावट १२.५९ प्रतिशतमा झर्‍यो
सम्पादक:南亚网络电视
समय:2023-03-16 11:08

thumb (9)

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) मा नेपालको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा झरेको छ । उक्त अवधिमा वितरणतर्फ ७.९९ र प्रसारणतर्फ ४.६० प्रतिशत चुहावट भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा विद्युत् चुहावट १८.५२ प्रतिशत थियो । समग्रमा ५.९३ प्रतिशत चुहावट घटाउन सफल भएको नेपाल विद्युत् प्राधिकरणको दाबी छ ।

प्राधिकरणका अनुसार सात महिनामा ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ । चालु आर्थिक वर्षको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएको थियो । त्यसमध्ये ५ अर्ब २७ करोड ४१ लाख युनिट बिक्री भएको हो । चुहावटको सबैभन्दा ठूलो हिस्सा वितरणतर्फ हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशत र वितरणतर्फ ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए ।

‘मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायत अभियान देशैभर सञ्चालन गरिएको छ,’ घिसिङले भने, ‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरू फेरिएका छन् । नयाँ सबस्टेसन निर्माण र पुरानालाई स्तरोन्नति गरिएको छ । औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ । समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ ।’

गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको प्राधिकरणको भनाइ छ । प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर