
काठमाडौँ, फागुन २४ गते । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सेख मोहमद बिन जायद अल नाह्यानलाई नेपाली नागरिकको सुरक्षाका लागि अपिल गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले उहाँसँग टेलिफोन संवाद गर्दै पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावका लागि हार्दिक शुभकामना पनि दिनुभयो । संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी भएका आक्रमणको निन्दा गर्नुभयो । पश्चिम एसियामा चर्किएको अमेरिका–इजरायल र इरानबिचको युद्धका क्रममा युएईका थुप्रै स्थानमा इरानले आक्रमण गरेको छ । प्रधानमन्त्रीले यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालको साथ रहेको भन्दै ऐक्यबद्धता प्रकट गर्नुभयो । उहाँले यस परिस्थितिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गर्नुभएको छ । युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उहाँले कूटनीति र संवादका माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताउनुभयो । परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकामा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसको समान रूपमा हेरचाह गरेकोमा युएई सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
गत १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासमा गरेको निरन्तर योगदानप्रति युएईका राष्ट्रपतिको कुशल नेतृत्वको उच्च प्रशंसा गर्नुभयो । दुई देशबिच आर्थिक साझेदारी र जनसम्बन्धलाई थप बलियो बनाउँदै द्विपक्षीय सम्बन्ध थप विस्तारित र सुदृढ हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति, युएई सरकार र युएई जनतालाई यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।
टेलिफोन संवादका क्रममा उहाँले नेपालले वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको अवगत गराउनुभयो । नेपाली नागरिकको सुरक्षा चिन्तासँगै दीर्घकालीन रूपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा सङ्कुचन र बढ्दो मुद्रास्फीतिसहित व्यापक आर्थिक दबाबको सामना गरिरहनु परेको जानकारी गराउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
त्यस्तै उहाँले ट्रान्जिटमा रहेका यात्रुलाई बिस्तारै नेपाल वा तेस्रो देशमा आआफ्ना गन्तव्यमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने वातावरण मिलाउन अनुरोध गर्नुभयो । युएईका राष्ट्रपति सेख मोहम्मदले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रका रूपमा प्रस्तुत गरेकोप्रति ऐक्यबद्धता र सहानुभूतिप्रति युएईका तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले एक जना नेपालीले जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनु परेकामा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । उहाँले नेपाल र युएईबिच कायम रहेको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मेहनती बानी र असल आचरणको प्रशंसा गर्नुभयो ।
संवादका क्रममा उहाँले दुवै मुलुकका राजदूतले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो । साथै नेपालीको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको भन्दै प्रतिबद्धता व्यक्त गर्नुभयो ।





