एस ए टी भी २४ कार्तिक काठमाण्डौँः तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस-कन्ट्री दौड प्रतियोगिता पोखरामा सम्पन्न भएको छ। "रन फर कमन प्रस्परिटी" नारासहित प्रतियोगिताको उद्घाटन नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ्ले गर्नु भएको हो। प्रतियोगिता बिहानको ०७:३० बजे सुरु भएको हो।
पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरमको आयोजनामा भइरहेको प्रतियोगिताको मार्गदर्शकको रूपमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्- गण्डकी, जिल्ला खेलकुद विकास समिति-कास्की, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, कुनमिङ विदेशी मामिला कार्यालय, कुनमिङ खेल महासङ्घ र कुनमिङ पिपल्स एसोसिएसन फर फ्रेण्डशीप विथ फरेन कन्ट्रिज रहेका थिए।
कूल उन्नाइस लाख अट्तिस हजार एक सय नेपाली रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगितामा टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन दौड गरी चार प्रकृतिका दौड हुनेछन्। प्रतियोगितामा नेपाल तथा बाहिरबाट सबै गरेर करिब १२०० प्रतियोगीले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागिता जनाउन कुनमिङबाट १३४ जनाको टोली प्लेन चार्टर गरेर २२ गते नै पोखरा ओर्लिसकेको थियो भने अन्य खेलाडी तथा अधिकारीहरू पनि आइसकेका थिए।
टिम समूह दौड (Team Group): यस दौड वाराही घाटबाट सुरु भएर राष्ट्र बैङ्क चोक, ड्याम साइड, छोरेपाटन, फुस्रे खोला, राम्दी, मट्टीखान, देउराली, फेदिखोला, दमगडे स्कूल, साल्मे डाँडा, राम कोट, कुविन्डे, उल्लेरी, थाप्ले टाइगर हिल, काब्रे, पुम्दि-भुम्दी, ताल पारी, द बिच रेस्टुरेन्ट, हुँदै फेरि वाराही घाट आएर समापन भएको थियो। टिम ग्रुपको विजेता सुशील थान्सुहाङ,सृजना पाण्डे र स्रिकाश राईको टोलीले ४ घण्टा २० मिनेट ४७ सेकेण्डमा दुरी पार गरे।
च्यालेन्ज इन्डिभिजुअल दौड (Challenge Individual Race): यस दौड वाराही घाटबाट सुरु भएर राष्ट्र बैङ्क चोक, ड्याम साइड, छोरेपाटन, फुस्रे खोला, राम्दी, मट्टीखान, देउराली, फेदिखोला, दमगडे स्कूल, साल्मे डाँडा, राम कोट, कुविन्डे, उल्लेरी, थाप्ले टाइगर हिल, काब्रे, पुम्दि-भुम्दी, पिस पगोडा, ड्याम साइड, राष्ट्र बैङ्क चोक, हुँदै फेरि वाराही घाट आएर समापन भएको थियो भने यस रेसका पुरुष तर्फका विजेता याङ चिआन् चियान् रहेका छन्। उनले निर्धारित दुरी ३ घण्टा ४४ मिनेट ४७ सेकेण्ड भित्र पूरा गरेर प्रथम स्थान हासिल गर्न सफल भए। साथै महिला दौडमा चेन वेन रोङ रहेकि छन्।
विद्यार्थी दौड (Student Race): यस दौड वाराही घाटबाट सुरु भएर गौरिघाट, सहिद चोक, राष्ट्र बैङ्क चोक, हुँदै ड्याम साइडबाट फेरि राष्ट्र बैङ्क चोक, सहिद चोक, गौरिघाट, भएर अन्तमा वाराही घाट आएर समापन भयो।
ह्याप्पी रन दौड (Happy Run Race): यस दौड वाराही घाटबाट सुरु भएर सेन्टरपोइन्ट, हल्लन चोक, खहरे चोक, डिहिको पाटन, हल्लन चोक, सेन्टर पोइन्ट हुँदै फेरि वाराही घाट आएर समापन भयो।
हिमालको काखमा सम्पन्न भएको यस प्रतियोगिताले दुई देश बिचको मित्रतालाई अझ अर्को उचाइमा मात्रै पुगाएन , पोखरा सहरको पर्यटन र विकासमा अर्को आयाम थपिदिएको छ। यस प्रकारका प्रतियोगिताले पोखराको समग्र विकासमा उल्लेख्य मात्रामा सहयोग पुर्याउने निचोड निकाल्दै कार्यक्रमको समापन र पुरस्कार वितरण पनि आजै सम्पन्न भयो।