नेभिगेसन मेनु

बाटोको कारण देखाउँदै यात्रुसँग दोब्बर भाडा
सम्पादक:南亚网络电视
समय:2024-10-07 11:59

buses

एस् ए टी भी २१ असोज काठमाण्डौँः  गत वर्ष खोटाङको अर्खौले जान १ हजार ७ सय गाडीको भाडा तिरेका सुनील रिजाल यो पटक झन्डै दोब्बर भाडा तिरेर घर जाने तयारी गर्दै छन् । तोकिएको भाडा नतिरे जान नपाउने डर भएपछि उनले बाध्य भएर दोब्बर भाडा तिरेका हुन् ।

‘टिकट काट्न जाँदा बाटो बिग्रिएको छ पोहोरको भाडाले हुँदैन, धेरै घुमेर जानुपर्छ भन्दै बढी मागेका छन्,’ उनले भने, ‘फेरि टिकट नपाइएला भनेर ३ हजार भाडा तिरेर घर जान लागेको हुँ ।’ फूलपातीका दिन घर जाने गरी चाबहिलको काउन्टरमा गएर टिकट लिएको उनले सुनाए । गत वर्षको दसैंमा यातायात व्यवसायीले अर्खौलेसम्म सुमोको भाडा २ हजार ५ सय लिन्थे । अहिले बाटो बिग्रिएको भन्दै अर्खौलेको भाडा मात्र चार हजार लिएको एक यात्रुले बताए ।

‘यसरी टिकट काट्दा काउन्टरमा पैसा खुलाउँदैनन्, टिकटमा पुरानै भाडा लेख्छन्, लिँदा बढी लिन्छन्,’ ती यात्रुले भने, ‘कतै प्रहरीले जाँच गरे रिजर्भमा आएको भन्नू भन्छन् ।’ घर जान नपाइने डरले यातायात व्यवसायीले जति भाडा तोक्छन्, त्यति नै तिर्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । ‘बढी भाडा लिनेलाई सरकारले कारबाही गर्ने भन्छ । तर खुलमखुला व्यवसायीले बढी भाडा लिइरहेका छन्,’ ती यात्रुले भने, ‘सरकारी निकाय देखेर पनि नदेखें झैं गर्दै आएको छ ।’

अहिले बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डको १२ किलोमिटर सडक बाढीले बगाएपछि पूर्व जाने यात्रुसँग व्यवसायीले दोब्बर बढी भाडा असुलिरहेका छन् । बीपी राजमार्ग भएर चाडबाडका बेला दिनको १० हजारभन्दा बढी सवारी साधन गुड्छन् । अहिले यो सडक बन्द भएपछि नागढुंगा–मुग्लिन–नारायणगढ–हेटौंडा, चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा र नौबिसे–पालुङ–हेटौंडा हुँदै यात्रु पूर्वतर्फ जाने गरेका छन् ।

शनिबारबाट मध्यपहाडी राजमार्गअन्तर्गत काभ्रेको भकुन्डेबेंसी–तेमाल–खैरेनी हुँदै रामेछापको सित्खा पुलबाट बीपी राजमार्ग निस्कने छोटो दूरीको वैकल्पिक सडक सञ्चालनमा आएको छ । यसको दूरी ३९ किमि छ । वैकल्पिक मार्ग सञ्चालनमा आए पनि व्यवसायीले अचाक्ली भाडा असुल्दै आएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम जाने यात्रुलाई टिकट पाउन मुस्किल परेको छ । यी ठाउँमा जाने यात्रुसँग पनि गत वर्षको तुलनामा केही बढी भाडा व्यवसायीले लिएको गुनासो छ ।

कान्तिपथ राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा बेलाबेलामा सडक भासिने गर्दा दसैंका बेलामा यातायात आवागमन प्रभावित बन्दै आएको छ । यो खण्डमा सास्ती खेपेर यात्रु गन्तव्यमा पुग्न बाध्य छन् । यो सडक भएर दिनको करिब २० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । दाउन्ने खण्डमा पटक–पटक सडक भासिँदा यात्रुको सडकमै बास बस्न बाध्य छन् । चाडबाडका बेलामा सडकलाई सहज बनाउन आयोजना र स्थानीय प्रशासनले सकेका छैनन् ।

बाटोले गर्दा बुकिङ लिएको समेत पैसा फिर्ता गर्नुपर्ने अवस्था आएको छ । सडकको अवस्थाले गर्दा बुकिङ लिएको समेत पैसा फिर्ता गर्नुपर्ने अवस्था आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘सबैभन्दा बढी समस्या नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा भएको छ,’ उनले भने, ‘सडककै कारण यात्रुलाई गन्तव्यमा पुर्‍याउन समस्या भएको छ ।’

यात्रुबाट दोब्बर भाडा नलिन व्यवसायीलाई उनले अनुरोध गरेका छन् । ‘वैकल्पिक राजमार्ग प्रयोग गर्दा थोरै भाडा बढी लिएको हुन सक्छ । तर दोब्बर र मनपरी भाडा लिन पाइने छैन,’ उनले भने, विपत्तिका बेला सबैले सबैको ठाउँबाट सहयोग गर्नुपर्छ, यस्तो कुरामा यात्रु पनि सचेत हुन जरुरी छ ।’ बढी भाडा लिनेलाई प्रहरीले कारबाही गरेको उनको भनाइ छ । काठमाडौंका विभिन्न नाकाबाट अहिलेसम्म दसैंका लागि ५ लाख यात्रु बाहिरिएको अनुमान रहेको उनले सुनाए ।

यात्रुबाट बढी भाडा लिएको गुनासो आउने गरेको र त्यस्तालाई नियन्त्रणमा लिई कारबाही पनि गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले बताए । ‘बाटो बिग्रिएको र बल्खुबाट हेटौंडा जाने बाटो ५५ किमि टाढा भएको भन्दै पहिलाकै भाडा देखाएर यात्रुसँग बढी भाडा लिएको पायौं,’ कार्कीले भने, ‘यसरी बढी भाडा लिनेलाई नियन्त्रणमा लिएर कारबाही गरेका छौं ।’ बढी भाडा लिने ५ देखि ७ जनालाई दैनिक नियन्त्रणमा लिई कारबाही गरिरहेको उनको दाबी छ ।

दैनिक अनुगमन गरेर बढी भाडा लिनेलाई कारबाही गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जनाए । ‘काउन्टर नजिकै यात्रु सहायता कक्ष राखिएको छ,’ उनले भने, ‘अहिलेको विपत्तिलाई देखाएर यात्रुसँग कसैले पनि बढी भाडा असुल्न पाइनेछैन, बढी भाडा लिएको पाइए कारबाही गर्छौं ।’ बढी भाडा लिएमा यात्रुले नजिकै रहेका ट्राफिक प्रहरीलाई उजुरी गर्न सकिने उनको भनाइ छ । ‘बढी भाडा लिए नजिकैको यात्रु सहायता कक्ष वा सीधै विभागमा उजुरी गर्दा हुन्छ,’ उनले भने, ‘शुक्रबार गुनासो आएर दुई जनालाई पक्राउ गरेर कारबाही गरेका छौं ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर