नेभिगेसन मेनु

पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त
सम्पादक:南亚网络电视
समय:2024-08-30 16:47

thumb (15)

कालिकोट — बुधबार बेलुकीदेखिको अविरल वर्षाले कर्णाली राजमार्गको दैलेख-कालीकोट खण्ड क्षतिग्रस्त भएको छ । पहिरोले दैलेखको खिड्कीज्युलादेखि कालीकोटको हुल्मसम्म २२ किलोमिटर सडक भत्काएको हो । 

कालीकोटको हुल्म, कालेखोला, एस मोड, गगनेखोला, दैखोला, सिराडी, किटु, मालाचौरलगायतका ठाउँमा पर्ने सडक पूर्णरुपमा अवरुद्ध भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । 'कतिपय ठाउँमा त सडक थियो र ! भन्ने अवस्था छ,' उनले भने, 'बेमौसमी वर्षाले सडक अस्तव्यस्त बनायो ।'

उनकाअनुसार कालीकोटको गगनेखोलामा पूरै सडक भत्किएको छ भने कालीकोट र दैलेखको सिमाना दैखोलामा पक्की पुलसहित क्षति भएको छ । दैखोलामा बाढीसहितको पहिरोले पुल चर्किएको छ भने पुलको छेउबाट कटान गरेर खोला बगिरहेको छ ।

गगनेखोलामा गत वर्ष सडक विभागले ठेक्कामार्फत लगाएको २ करोड रुपैयाँ लागतमा लगाइएको पर्खालसहित भत्किएर सडक पूरै अवरुद्ध छ । सडक एकतर्फी सञ्चालन गर्न कालीकोट खण्डमा मात्र कम्तिमा तीन दिन लाग्ने स्थलगत अनुगमनमा गएका कालीकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए ।

'सडकको अवस्था भयावह छ,' उनले भने, 'कालीकोटको दैखोलादेखि हुल्मसम्म २२ ठाउँमा पहिरो गएको भएपनि दुई ठाउँमा धेरै क्षति छ । सडक सञ्चालन गर्न कम्तीमा तीन दिन लाग्छ ।' उनकाअनुसार दैलेखखण्डको मालाचौरदेखि दैखोलासम्म मात्र ११ ठाउँमा पहिरो छ । मालाचौर, सिराडी, किटु, घट्टे खोलासहितका ठाउँमा सडक बगेको छ ।

पहिरो पन्छाउन ४ डोजर

बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्गको पहिरो पन्छाउन कालीकोट खण्डमा तीन र दैलेख खण्डमा एक गरी चार वटा मेसिन लगाइएको छ । कालीकोटको हुल्म, गगने खोलामा दुई वटा मेसिन छन् भने पिलीको मेसिन पनि शुक्रबकार दिउँसो हुल्म पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।

उनकाअनुसार दैलेख खण्डमा पनि सडक डिभिजन कार्यालय सुर्खेतको डोजरले काम गरिरहेको छ । बगाएर काटेको ठाउँमा सडक भरेर सञ्चालन गर्न मेसिन लगाइएको छ । उनकाअनुसार कर्णाली करिडोर खुलालु बाजुरा हुम्ला सडक सुचारु भएको छ । लालीघाट रेंगिलको पहिरो हटाइएको र फुगाड खोला घटेपछि करिडोर सुचारु भएको हो ।

कर्णाली राजमार्गको केही ठाउँमा त पर्खाल नलगाउँदासम्म सडक बन्न सक्ने अवस्था नहरेकोले मेसिनले ढुंगा हाल्ने काम गरिरहेको सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले बताए । उनले हुल्ममा बिहीबार रातिको पानीले पुनः क्षति गरेको सुनाउँदै गगने खोलामा पनि मेसिनले काम गरिरहेको सुनाए । उनले सकेसम्म छिटो खोल्न रातदिन काम गर्ने बताए ।

यात्रुलाई सास्ती, ट्रकको स्याउ कुहिने चिन्ता

पहिरोले सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । कर्णाली राजमार्ग हुँदै दैनिक यात्रा गर्ने ३ देखि ५ सय यात्रुहरु पैदल हिँड्न बाध्य छन् । उनीहरु हुल्मदेखि खिड्कीज्युला र खिड्कीदेखि हुल्मसम्म पैदल हिँडेर अर्को साइडमा हुने गाडी चढेर गन्तब्यमा जाने गर्छन् । 'पालिका पुग्ने भनेर सुर्खेतबाट हिँडेको हो,' सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह संज्यालले भनिन्, 'पालिका जान सकिएन, हिँडेर मान्म आइयो ।'

दुई दिन कोल्टीमा जहाज कुर्दा नआएपछि कर्णाली करिडोर हुँदै सुर्खेत जान आएका बाजुरा कार्तिकस्वामी ४ का अदाने कैलाले बाटोमा निकै दुःख पाइएको गुनासो पोखे । बाजुराबाट कालीकोट पुग्नै ३ दिन लाग्यो । मिर्गौंलाका विरामी ८५ वर्षीय बुवाको उपचार गर्न हिँडेका कैलाले गुनासो पोखे, 'अस्पताल पुग्नै एक हप्ता लाग्ने भयो ।' उनले बाजुराबाट कालीकोटको जितेसम्म एम्बुलेन्सलाई १० हजार रुपैयाँ तिरेको सुनाए ।

कर्णाली राजमार्ग हुँदै सुर्खेत लैजान जुम्ला, कालीकोटको फोइमहादेव, रास्कोट लगायतका ठाउँबाट मिनी ट्रक र एलपी ट्रकमा लोड गरेर ल्याएको स्याउ कुहिने चिन्ताले व्यवसायीलाई सताएको छ । '५ ट्रकमा ३ लाखको स्याउ खरिद गरी ल्याएँ,' बुटवलका व्यवसायी अर्जुन पौडेलले भने, 'यति बेलै बाटो बन्द भयो, स्याउ कुहिने डर छ ।'

जुम्लाबाट स्याउ बोकेर आएका २० वटा गाडी ट्राफिक प्रहरीले कालीकोटको ताडी बसपार्कमा पार्किङ् गरिराखेको छ । 'ठूला गाडी ताडीमै रोकेका छौं,' जिल्ला ट्राफिक इन्चार्ज प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले भने, 'सुर्खेतबाट आएका गाडी राकम र खिड्कीज्युलातिरै रोकिएको छ ।' उनले साना सवारी शुक्रबार दिउँसोदेखि गगनेसम्म पठाएर यताबाट मेल गरी यात्रुलाई गन्तब्यमा पठाउन थालिएको बताए ।

२ सय ३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक वर्षा लागेपछि बेला-बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । असार यता मात्र ४१ दिन अवरुद्ध भइसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर