नेभिगेसन मेनु

सिमलताल पहिरोको एक साता : भारतीय भूमिमा भेटिन थाले शव
सम्पादक:南亚网络电视
समय:2024-07-21 12:21

simaltal2024-07-16-06-50-04

सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका तीन यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले चम्पारण नगाहास्थित नारायद्रणी नदीमा शव फेला पारेपछि नेपाल ल्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यद्यपि, शवको सनाखत हुन बाँकी छ । 

चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये २५ जनाको मात्र शव फेला परेको छ । ३७ जनाको अवस्था अझै अज्ञात छ । प्रजिअ यादवका अनुसार त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिएको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताको शव सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय गरेको छ । 

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशुली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए ।

कुशको शव बनाएर दाहसंस्कार गर्न थाले परिवारजन

चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएकाका आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न थालेका छन् । दुईवटा बस त्रिशूलीमा खसेको एक साता बित्दा पनि फेला नपरेपछि पर्साका चारजनाको दाहसंस्कार गरिएको हो ।

प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल बसका चालकसमेत रहेका वीरगन्ज महानगरपालिका– १६ नगवाका जवाहिर महतो तथा यात्रुहरू नगवामै बस्दै आएका २२ वर्षीय अरविन्द पण्डित, बहुदरमाई नगरपालिकाका ओमहरि यादव र सुजितकुमार साहका परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् । महतो र पण्डितको शुक्रबार तथा यादव र साहको बुधबार दाहसंस्कार भएको हो ।

महतो रात्रिबस चलाएर दुई छोरा, एक छोरी र श्रीमतीसहित परिवारको जीविकोपार्जन गर्दै आएका थिए । शिक्षण अस्पताल काठमाडौंबाट बिएस्सी नर्सिङ पूरा गरी सेवा अवधिका लागि पत्र बुझ्न गएका अरबिन्द पनि पहिरोमा परी बेपत्ता भएका थिए । महतो र साह पनि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं हिँडेका थिए ।

साहका काका शेषमण साहले घटनाको एक सातासम्म पनि फेला नपरेपछि हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको बताए । ‘जिउँदो भेटिने चान्स नै रहेन । कुर्दाकुर्दै घरपरिवारमा समस्या बढेको छ । शव पाइन्छ कि भन्ने आशा छ,’ उनले भने, ‘अहिलेलाई कुशको शव बनाएर दाहसंस्कार गरेका छौँ, शव भेटिए फेरि दाहसंस्कार हुन्छ ।’ 

वीरगन्जदेखि काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल बस र काठमाडौंबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस २८ असारमा सिमलतालको पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । यी बसमा सवार यात्रु र चालक दलका सदस्य गरी ६५ जना रहेकामा ६२ बेपत्ता भएका थिए । वीरगन्जबाट छुटेको बसमा सवारमध्ये पर्साका १० जना बेपत्ता भएका थिए । तीमध्ये सखुवा प्रसौनी गाउँपालिका– २ जमुनियाकी प्रभा चौधरीको शव मात्र फेला परेको छ । उनका बुबा हृदयनारायण र आमा भगवतीदेवी पनि पहिरोमा परी बेपत्ता भएकामा फेला परेका छैनन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर