नेभिगेसन मेनु

विमानस्थल सुन तस्करी प्रकरण : ‘मोस्ट वान्टेड’ जीवन गुरुङ दुबईमा
सम्पादक:南亚网络电视
समय:2024-07-11 11:57

3_pageko2024-07-11-08-26-13

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक–पटक भएको सुन तस्करीमा संलग्न तथा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका जीवन गुरुङ १६ जेठमै दुबई (युनाइटेड अरब इरिमेट्स) पुगेको खुलेको छ । उनी भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एयर इन्डियाको जहाजमा दुबई गएको खुलेको हो । 

गुरुङ बिजनेस ट्रिपमा दुबई गएको नयाँ पत्रिकालाई प्राप्त विवरणले देखाउँछ । दुबई जानुअघि उनले भारतको दिल्लीस्थित नेपाली दूतावासमा १४ जेठमा एनओसी (नो अब्जेक्सन लेटर)का लागि निवेदन दिएका थिए । उनले जेएमएस ट्रेडिङ एफजेडईको कर्मचारीको हैसियतले दूतावासमा निवेदन दिएका थिए । निवेदनमा उल्लेख भएअनुसार गुरुङ युएईको आवासीय परिचयपत्रधारी नेपाली नागरिक हुन् । उनको दुबईको आइडी कार्ड नम्बर ७८४–१९६२–४२१०८४६–० हो । पत्रको अन्तिममा उनी आफैँले हस्ताक्षर गरेका छन् । उनी सोही कार्ड प्रयोग गरी दुबई पुगेका हुन् । गुरुङ तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सल्लाहकार हुन् ।

२७ मे २०२४ मा दिल्लीस्थित नेपाली दूतावासमा जेएमएस ट्रेडिङ एफजेटईले गरेको निवेदनमा उल्लेख छ, ‘नयाँदिल्लीस्थित नेपाल दूतावासलाई यो अनुरोध छ कि हाम्रा कर्मचारी काठमाडौं घर भएका नेपाली नागरिक जीवनकुमार गुरुङ (युएआई आइडी ७८४–१९६२–४२१०८४६–०) हालसालै दिल्लीमा थिए । २९ मे २०२४ मा एयर इन्डियामार्फत बिजनेस ट्रिपमा युएई भ्रमण गर्दै छन् । खाडी मुलुक भ्रमण गर्न त्यस कार्यालयबाट एनओसी आवश्यक पर्ने भएकाले उनको सुखद यात्राका लागि एनओसी पत्र प्रदान गर्न आग्रह गरिएको छ ।’ तर, दूतावासले भने गुरुङको नाममा एनओसी लेटर जारी नभएको दाबी गरेको छ । ‘जीवन गुरुङ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिएर तेस्रो मुलुक फरार भएको भन्ने कुरामा कुनै सत्यता नभएको र निजको नाममा यस दूतावासबाट कुनै एनओसी जारी नभएको व्यहोरा सूचित गरिन्छ,’ दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्राप्त विवरणअनुसार गुरुङले दुबईको आवासीय परिचयपत्र ७ मार्च २०२३ मा प्राप्त गरेका थिए । उक्त परिचयपत्रको अवधि ६ मार्च २०२५ मा सकिँदै छ । परिचयपत्रमा उल्लेख भएअनुसार उनको जन्ममिति १९ मार्च १९६२ छ । उनको परिचयपत्र नम्बर ७८४–१९६२–४२१०८४६–० हो । उक्त परिचयपत्र युएईको ‘फेडरल अथोरिटी फर इडेन्टिटी एन्ड सिटिजनसिप, कस्टम एन्ड पोर्ट सेक्युरिटी’ले जारी गरेको हो ।

गुरुङविरुद्ध डिफ्युजन नोटिस जारी गर्दै प्रहरी 

‘मोस्ट वान्टेड’ सूचीमा रहेका गुरुङ युएई गएको सूचना पाएपछि नेपाल प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको सिआइबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीले बताए । ‘६०.७१६ किलो सुन तस्करी प्रकरणका मोस्ट वान्टेड सूचीमा रहेका गुरुङविरुद्ध खोजी कार्य तीव्र तुल्याइएको थियो । उनी भारतको दिल्ली पुगेको सूचना प्राप्त भयो । उनलाई पक्राउ गर्न आवश्यक समन्वय हुँदै थियो । यही क्रममा उनी तेस्रो मुलुक उडेको सूचना आयो । अब उनीविरुद्ध हामी डिफ्युुजन नोटिस जारी गर्दै छौँ । यसको आवश्यक तयारीमा प्रहरी अघि बढिसकेको छ,’ उनले भने ।

सिआइबीले विमानस्थलबाट तस्कर भई आएको ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सुरु गरेलगत्तै गुरुङ स्थलमार्ग हुँदै भारतको दिल्ली पुगेका थिए । सूचना प्राप्त भएलगत्तै सिआइबीले गुरुङलाई पक्राउ गर्न दिल्ली प्रहरीसँग समन्वय गरेको थियो । यसका लागि सिआइबीले नेपाली दूतावासस्थित प्रहरी ‘एट्याची’ एसएसपी उमा चतुर्वेदीलाई दिल्ली प्रहरीसँग समन्वय गर्न निर्देशन दिएको थियो । सिआइबीले गत ५ चैतदेखि ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो । 

विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा संलग्न गुरुङलाई सिआइबीले गत १३ फागुनमा खुसीबुबाट पक्राउ गरेको थियो । तर, सोही दिन १५ लाख धरौटी बुझाएर जिल्ला अदालत काठमाडौंबाट उनी हिरासतमुक्त भएका थिए । पुनः पक्राउ परिने भएपछि गुरुङ रातारात स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए । 

गुरुङले १४ किलो सुन तस्करीमा भारतीय नागरिक अंकित अग्रवालको प्रतिनिधि भएर काम गर्दै आएका थिए । अग्रवाल समूहले विमानस्थलबाट वर्ष दिनको अवधिमा एक सय ३८ किलो सुन तस्करी गरेका थिए । सोहीमध्येको १४ किलो सुन विमानस्थलबाट गत २१ मंसिरमा बरामद भएको थियो । 

अग्रवालका नेपाल प्रतिनिधि गुरुङको ६०.७१६ किलो सुन तस्करीका मुख्य नाइके वाङ डाओजिनसँग पनि उतिकै राम्रो सम्बन्ध थियो । डाओजिन समूहले नेपालस्थित बिभिन्न नाकाबाट दुई खर्ब ६६ अर्ब ६७ करोड नौ लाख नौ हजार ३०८ रुपैयाँ मूल्यबराबरको सुन तस्करी गरेको थियो । त्यसमध्ये ६०.७१६ किलो सुन गत २ साउनमा विमानस्थलबाट बरामद भएको थियो । डाओजिन समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ मूल्यबराबरको ३१९४.६६८ किलो सुन तस्करी गरेको थियो । 

डाओजिन सुन तस्करी गर्ने उद्देश्यले एक वर्षदेखि नेपाल आउजाउ गरिरहन्थे । नेपाल रहँदा डाओजिनलाई गाडी उपलब्ध गराउने काम गुरुङले गर्थे । गुरुङले उनलाई आफ्नै गाडी पनि दिने गर्थे । उनको घरमा पनि डाओजिनको आउजाउ हुन्थ्यो । त्यसबाहेक होटेलको व्यवस्थापन गर्नेदेखि शक्तिकेन्द्रसँग सम्पर्क गराइदिने कामसमेत उनले गराइदिन्थे । 

सुन तस्करीमा संलग्न १६ जना पुर्पक्षका लागि कारागार चलान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६०.७१६ किलो सुन तस्करी गर्ने गिरोहसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तीनजनाविरुद्ध धरौटी माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १८ असारमा तस्करीमा जोडिएका ६० विरुद्ध ६ खर्ब ९१ अर्ब ५६ करोड रुपैयाँको बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा अदालतले १६ जनालाई कारगार पठाउने आदेश गरेको हो । 

जिल्ला अदालत काठमाडौंका अनुसार कारागार चलान हुनेमा सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, प्रशान्त गणेश बजबलकर, धीरज दिनेश भोइटे, सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ ब्रह्मादत्त गोयल, टासी शेर्पा भनिने चिनियाँ नागरिक गेन्गा सासी, प्रज्वल आचार्य, सुरजशमशेर जबरा, भीमप्रसाद तिमल्सिना, फुनसुक डग्पा अथुपछाङ खम्पा, कश्यप मानन्धर, लालबहादुुर कुँवर, अरुणकुमार यादव र रूपक भण्डारी छन् । अदालतका अनुसार ५२ वर्षीय राजु थापा भनिने प्रेमनाथ सेढाईंविरुद्ध ५६ लाख, ४४ वर्षीय थर्कमान लामा भनिने कान्छा लामाविरुद्ध ९६ लाख र ४३ वर्षीय मनोजराज श्रेष्ठविरुद्ध ९६ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटी रकम बुझाउन नसक्दा उनीहरू पनि कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले सुन तस्करीमा पक्राउ परेका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएको र बाँकी तीनविरुद्ध धरौटी माग भएको बताए । ‘सुन तस्करीसँग सम्बन्धित मुद्दाको थुनछेक बहस सकिएपछि बुधबार १६ प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ । धरौटी माग भएका तीनजनाले रकम पेस गर्न सकेनन् । उनीहरू पनि कारागार नै चलान भएका छन्,’ उनले भने । सरकारी वकिल कार्यालय काठमाडौंले नेपाल सेनाका पूर्वरथी नेपालभूषण चन्दसहित ६० प्रतिवादीविरुद्ध अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता किर्ते, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फस्र्योट ऐन, हातहतियार खरखजानासहित आठवटा कसुर लगाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । 

नेपाली सेनाका पूर्वरथी चन्दसहितको समूहविरुद्ध मात्रै ६१ अर्ब ५० करोड २७ लाख नौ हजार २३३ रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त बिगो दाबी चन्दससहित पेवेल नेपालका सञ्चालक र कर्मचारी भीमप्रसाद तिमल्सिना, पाल्साङ लामा, खेलानन्दप्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरजशमशेर राणा र मिलन भनिने मीनबहादुर दुलालविरुद्धको हो । उनीहरूले तस्करी भई आएको सुनको मूल्य अवैध तवरले भुक्तानी गरेका थिए ।

त्यसकारण उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ (१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६ (१) बमोजिम सजायको माग दाबी गरिएको हो । कसुुर प्रमाणित भए उनीहरूविरुद्ध सात वर्षसम्मको कैद सजाय पनि हुन सक्नेछ । ‘ऐनविपरीत निक्षेप लिएमा वा कर्जा दिएमा वा डिबेन्चर वा अन्य वित्तीय उपकरण जारी गरेमा वा बैंकले निर्धारण गरेको नीतिविपरीत ब्याज लिनु वा दिनुपरेमा वा विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा वा प्रचलित कानुनबमोजिम बैंकबाट इजाजतपत्र लिनुपर्नेमा सो नलिई त्यस्तो कारोबार गरेमा कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ मा भनिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर