असार १९ गते । काठमाडौँको सोह्रखुट्टेमा सडक भाँसिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भाँसिएर पानी निस्किएको काठमार्डौं महानगरपालिका १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले जानकारी दिनुभयो ।
बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।
भाँसिएको सडकको खाल्डोबाट पानी बाहिर निस्किएकाे छ, ठुलो आवाज पनि आएर सडक भाँसिएकाले पानीको मूल फुटेको हुनसक्ने अनुमान गरिएको महर्जनले जानकारी दिनुभयो । जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पायपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द नभएपछि मूल फुटेको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।
बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।
यता बिहानै देखि सडकमा यातायात आवागमन ठप्प रहेको छ । सडक सञ्चालनका लागि सडक विभागले पहल सुरु गरे पनि पानी नरोकिएपछि समस्या भएको वडाध्यक्षको भनाई छ ।
पानी रोकिन साथ ग्राभेल गरेर सडकलाई सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।