नेभिगेसन मेनु

इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया समूह बीको शीर्ष स्थानमा
सम्पादक:南亚网络电视
समय:2024-06-09 12:12

australia_won_uuBK2lQrDl

काठमाडौँ : आइसिसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई हराएर लगातार दोस्रो जित निकालेको छ। आइतबार बिहान सकिएको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्डको टोलीले ५ विकेट गुमाएर १६५ रनमा रोकिन पुग्यो।

टस हारेर पहिले ब्याटिङ गरेको टोलीका डेभिड वार्नरले ट्राभिस हेडसँग मिलेर अस्ट्रेलियालाई शानदार सुरुवात गराए। उनीहरूले पहिलो ५ ओभरमा ७० रन बनाएका थिए। यो साझेदारी मोइन अलीले तोडेका थिए। 

अलीले अस्ट्रेलियाका वार्नरलाई ३९ रन बनाएका बेला आउट गरे । वार्नरले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। अर्को ओभरमा हेड पनि आउट भए। हेडले १८ बलमा ३४ रन बनाए। 

कप्तान मिचेल मार्स र ग्लेन म्याक्सवेलले छिटो रन बनाएर स्कोर १३९ मा पुर्याए। मार्सले २५ बलमा ३५ रन बनाए। उनको इनिङ्समा दुई चौका र दुई छक्का सामेल थिए। म्याक्सवेलले २८ रनको इनिङ खेले।

अस्ट्रेलियाले १६औँ ओभरमा १५० रनको अङ्क पार गरे पनि १७औँ ओभरमा १६८ रनको स्कोरमा टिम डेभिडको विकेट गुमाएको थियो। उनी ११ रन बनाएर आउट भएका थिए।

अन्त्यमा मार्कुस स्टोइनिसले १७ बलमा ३० रन र म्याथ्यु वेडले १० बलमा नटआउट १७ रन बनाएर आफ्नो टोलीको स्कोर २ सय भन्दा माथि पुर्याएका थिए। इङ्गल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक दुई विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले पनि उत्कृष्ट सुरुवात गरेको थियो। फिल साल्ट र कप्तान जोस बटलरले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरे। यो साझेदारी आठौँ ओभरमा तोडियो।

साल्ट २३ बलमा ३७ रन बनाएर एडम जाम्पाबाट बोल्ड भए। बटलर पनि २८ बलमा ४२ रन बनाएर आउट भए। उनको विकेट १० औँ ओभरमा ९२ रनमा खसेको थियो। विल ज्याक (१०) र जोनी बेयरस्टो (७) सस्तोमा पभेलियन फर्किए । मोइन अली पनि १५ बलमा २५ रन बनाएर आउट भए।

लियाम लिभिङस्टोनले १२ बलको सामना गरेर १५ रन बनाएर १९ औँ ओभरमा १५२ रनको स्कोरमा आउट भए। ह्यारी बु्रकले १६ बलमा २० रन बनाएर अविजित रहे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

अष्ट्रेलियाका लागि एडम जाम्पा र प्याट कमिन्सले २–२ विकेट लिए। जितसँगै अस्ट्रेलिया २ खेलमा ४ अंकसहित समूह बी मा शीर्ष स्थानमा पुगेको छ। योसँगै इंग्ल्याण्ड २ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा छ भने २ खेलमा ३ अङ्क जोडेको स्कटल्यान्ड दोस्रो र नामिबिया २ खेलमा २ अङ्क जोडेर तेस्रो स्थानमा छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर