नेभिगेसन मेनु

६० ओभरको एकदिवसीय र टी–२० विश्वकप दुई–दुईपटक जितेको वेस्ट इन्डिजको ‘ए’ टोलीसँग आज नेपाल भिड्दै
सम्पादक:南亚网络电视
समय:2024-04-27 12:10

cricket2024-04-27-07-48-30

६० ओभरको एकदिवसीय र टी–२० विश्वकप दुई–दुईपटक जितेको वेस्ट इन्डिजको ‘ए’सँग नेपालले शनिबार टी–२० सिरिजअन्तर्गत पहिलो प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदानमा यो प्रतिस्पर्धा नेपाली टोलीलाई विश्वस्तरीय खेलाडीबाट सिक्ने मात्र नभएर विश्वकपअघि आफूलाई प्रमाणित गर्ने अवसरसमेत हो । 

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्या तयारीस्वरूप वेस्ट इन्डिज नेपालमा खेल्न आएको हो । दुवै टोलीले सिरिजको पहिलो खेलअगाडि शुक्रबार अभ्यास गरेका छन् । सिरिजको दोस्रो १६ वैशाखमा, तेस्रो १९ वैशाखमा, चौथो २० वैशाखमा र पाँचौँ खेल २२ वैशाखमा हुनेछ । 

वेस्ट इन्डिजका खेलाडीले नेट सेसनमा लामो सटलाई पहिलो प्राथमिकतामा राखेका थिए । शुक्रबार नेट अभ्यासका क्रममा वेस्ट इन्डिजका खेलाडीले त्रिवि क्रिकेट मैदानका अवस्थाबारे क्यानका पदाधिकारीसँग जिज्ञासा राखे । सम्भवतः उनीहरूलाई नेपालको अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदानको बाउन्ड्री सानो लागेको ती क्यानका पदाधिकारीले बताए । ‘नेट अभ्यासपछि उहाँहरूले मैदानको क्षेत्रफल र बाउन्ड्रीबारे जानकारी लिए,’ ती सदस्यले नयाँ पत्रिकासँग भने, ‘उनीहरूले आफ्नो घरेलु मैदानभन्दा हाम्रो त्रिवि मैदान सानो लागेको जस्तो बडिल्याग्वेज पाएँ ।’ वेस्ट इन्डिज क्रिकेट बोर्डले नेपालविरुद्ध आफ्नो ‘ए’ टोली पठाए पनि अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडीको बाहुल्यता रहेको छ । दुईपटकको एकदिवसीय र त्यति नै संख्यामा टी–२० आई विश्वकप ट्रफी उचालेको वेस्ट इन्डिजले घरेलु टोली नेपालविरुद्ध सहज नलिने योजना बनाएको छ । 

वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले पछिल्लो समय अन्तर्राष्ट्रिय खेलम राम्रो नतिजा निकालेको नेपाली क्रिकेटरविरुद्ध खेल्न पाउँदा उत्साहित भएको बताएका छन् । ‘विगत एक वर्षदेखि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ, नेपाली खेलाडीसँग खेल्न हामी सबै उत्साही छौँ,’ शुक्रबार पाँच टी–२० आईको पहिलो खेलअघि कप्तान चेजले भने । वेस्ट इन्डिजले जस्तै नेपालले पनि टी–२० विश्वकपकै तयारीका रूपमा सिरिजलाई लिएको छ । ‘अहिले नेपाल भ्रमणमा रहेका खेलाडी निकै राम्रा छन्, अन्तर्राष्ट्रिय क्रिकेटकै अनुभवी खेलाडीविरुद्धको प्रतिस्पर्धाले हाम्रो विश्वकप तयारीमा सहयोग मिल्नेछ,’ नेपालका कप्तान रोहित पौडेलले भने । गत साता ओमानमा भएको एसिसी प्रिमियर कपमा राम्रो नतिजा निकाल्न नसक्दा दुःखी भएको प्रसंग उनले निकाले । ‘ओमानमा सुरुदेखि नै नेपालको प्रदर्शन निकै राम्रो भएको थियो, तर दुई खेलमा खराब नतिजा सामना गरौँ, त्यसमा हामी सबै दुःखी छौँ,’ प्रिमियर कपको समीक्षा गर्दै उनले भने, ‘त्यसलाई भुलेर फेरि राम्रो सुरुवात गर्नुपर्छ ।’

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकप आउन डेढ महिना बाँकी छ । दोस्रोपटक विश्वकप खेल्न लागेको नेपालले राम्रो अभ्यास गर्ने अवसर पाएको कप्तान रोहितको भनाइ छ । ‘प्रिमियर कपमा खराब नतिजा व्यहोरे पनि हामीले आइसिसी टी–२० विश्वकपअघि विश्वकै एक उत्कृष्ट टोलीसँग अभ्यास खेल खेल्ने मौका पाएका छौँ,’ उनले भने । विश्व क्रिकेटमा वेस्ट इन्डिजको उपस्थिति दरिलो छ । सन् १९७५ र ७९ मा वेस्ट इन्डिजले लगातार दुईपटक ६० ओभरको एकदिवसीय विश्वकप जितेको थियो । सन् २०१२ र २०१६ मा यस टोलीले टी–२० आई विश्वकप उपाधि उचालेको थियो । 

विश्व क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन नै सन् २०१४ को टी–२० विश्वकप खेल्नु थियो । १० वर्षपछि नेपालले टी–२० विश्वकपमा स्थान बनाएको हो । आधिकारिक रूपमा नेपाल र वेस्ट इन्डिजको सिनियर टोलीबीच गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए ।  

नेपाली टोलीमा चार खेलाडी थपिए

क्यानले वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् । क्यानका सचिव पारस खड्काले शुक्रबार विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीमा थप गरेको जानकारी दिएका छन् । आयरल्यान्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा तीव्र गतिका बलर कमल र ब्याट्सम्यान लोकेश बमले उत्कृष्ट प्रदर्शन गरेका थिए । विनोद भण्डारी नेपाल ‘ए’का कप्तान र सागर पनि ‘ए’का सदस्य हुन् । चार खेलाडी थप भएपछि अब नेपाली टोलीमा २० संख्या पुगेको छ । क्यानले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो । एसिसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो ।

नेपाली टोली 

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम ।

वेस्ट इन्डिज टिम 

रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलिन, जोसुआ बिसप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्ड, ओबेद म्याककोए, गुडाकेस मोती, किमो पल, ओसान थोमस, हेडेन वाल्स ।

विश्वकपअघि नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने

नेपालले विश्वकपअघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले ७ देखि १५ मेसम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्ने जनाएको छ । वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ । नेपालले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्धको खेलपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर