चितवनमा घडियाल गोहीको अनुगमन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा १५ दिन लगाएर घडियाल गोहीको अनुगमन गरिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
पुस १ गतेदेखि १५ गतेसम्म गरिएको अनुगमनमा दुबै नदीमा गरेर दुईसय ६५ वटा घडियाल गोही भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार नारायणी नदीमामात्रै एकसय १३ वटा घडियाल गोही भेटिए, जसमा तीनवटा भाले छन् । राप्ती नदीमा एकसय ५२ वटा घडियाल पाइएका छन् । राप्तीमा पनि भालेको संख्या तीनवटै रहेको उनी बताउँछन् ।
चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाका १० जना कर्मचारीहरु घडियाल अनुगमन कार्यमा खटिएका थिए । सो क्रममा काठको डुंगा, रबर बोट, जी.पी.एस., क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो ।
उक्त अनुगमनको क्रममा तीनवटा डल्फिन समेत रेकर्ड गरिएको निकुञ्जले जनाएको छ ।