नेभिगेसन मेनु

‘पुनर्निर्माण अभियान चलाउने तयारीमा छौँ’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-21 12:02

Untitled-1 (1)

बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई कात्तिक १७ गते ६.८ रेक्टर स्केलको भूकम्प गएपछि बारेकोट गम्भीर सङ्कटमा छ । अस्थायी बसोबास निर्माण, खाद्यान्न, न्यानो कपडा, विद्युत्, पानीको व्यवस्थापन र पुनर्निर्माणको काममा पालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । भूकम्पले १५७ जनाको मृत्यु र ३४ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । भूकम्पले बारेकोटमा गम्भीर क्षति पु¥याए पनि विकास निर्माणको नयाँ सम्भावनासमेत लिएर आएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भन्नुभयो, “पालिकाको सम्पूर्ण शक्ति खोज, उद्धार, राहत वितरणपछि पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ ।” 

जाजरकोट जिल्लाकै दुर्गम क्षेत्रमा पर्छ, बारेकोट । स्थानीय खाद्य उत्पादनले बारेकोटवासीको वर्ष धान्दैन । त्यसैले यहाँका धेरैजसो मानिस रोजगारीका लागि भारततिर जाने गर्छन् । त्यसैले पालिकाले आफ्नो मुख्य जोड रोजगारी सिर्जना, कृषि, शिक्षा र पूर्वाधार विकास जस्ता कार्यमा दिएको छ । प्रस्तुत छ, भूकम्पपछिको पुनर्निर्माण, विकास निर्माण जस्ता विषयमा केन्द्रित रही गोरखापत्रका खलङ्गा समाचारदाता वासुदेव शर्माले अध्यक्ष गिरीसँग गर्नुभएको कुराकानी : 

निर्वाचनका बेला मतदातासँग गरिएका प्रतिबद्धता के कति पूरा भए ?

निर्वाचित भएको डेढ वर्ष बितेको छ । यो अवधिमा दीर्घकालीन प्रतिफल प्राप्त गर्ने कामको समीक्षा गर्ने वा उपलब्धि देखिने बेला भएको छैन तर जनतासँग निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने बाटोमा हिँडिरहेको छु । विकासमा पारदर्शिता, गतिशीलता, शिक्षामा समयानुकूल परिवर्तन, स्वास्थ्यमा जीवनोपयोगी उपचारको प्रबन्ध, कृषिमा व्यावसायिक र बजारीकरणमा जोड, पर्यटनमा बारेकोट चिनाउने अभियान अन्तर्गत पर्यटन गुरुयोजनाको निर्माण गरी समृृद्ध बारेकोटको यात्रामा पाइला चालिएको छ । मानव स्वास्थ्य र पशु स्वास्थ्यमा सुधारका लागि पशु घर निर्माणको सुरुवात आर्थिक वर्ष २०७९÷८० देखि सुरु गएिको छ । गरिबीका कारण अहिले पनि दुर्गम गाउँमा मान्छे  र पशु एउटै घरमा बस्ने बाध्यता छ । कार्यव्रmमको प्रभावकारी कार्यान्वयनबाट पारिवारिक, सामुदायिक र वातावरणीय सरसफाइमा टेवा पुग्ने र मानव तथा पशु स्वास्थ्यमा सुधार आउने विश्वास छ । एकल पुरुषलाई विदुर भत्ता, पशुपालनतर्फ किसानको आकर्षणका लागि गोठालो भत्ता जस्ता जनपक्षीय कार्यव्रmम लागु गरिएको छ । एक घर एक धारा निर्माणको कामलाई पाँच वर्षभित्र पूरा गरिने छ । पोषणमैत्री पालिका घोषणाका लागि पोषणमैत्री वडा कार्यव्रmमलाई अघि बढाइएको छ । 

तपाईं निर्वाचित भएपछि पर्यटकीय क्षेत्रको विकासका लागि के कस्तो प्रयास गर्नुभएको छ ? 

बारेकोट गाउँपालिका भौगोलिक रूपमा जाजरकोटकै सुन्दर गाउँपालिका हो । यहाँको जैविक विविधता, फलाम खानी, बहुमूल्य पत्थर खानी, पवित्र तीर्थस्थल साइकुवारी, ठाकुरजी, कराइचुली हिमाल, बारेपाटनदेखि चाखुरेसम्म रहेका विभिन्न ताल हाम्रा बहुमूल्य सम्पदा हुन् । जिल्लाकै सुन्दर बस्ती सिल्पाचौर, यहाँको जीवनशैली मौलिक संस्कृति पर्यटकका लागि आकर्षणका केन्द्र हुन् । त्यसै गरी लोपोन्मुख जङ्गली जनावर जस्तै रेड पान्डा, हिमचितुवा, कस्तुरी, बाघ, भालु, घोरल तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको उचित बासस्थान रहेको छ । सम्पदा, स्रोत सम्पत्तिको संरक्षण, संवर्धन र विकास गर्ने लक्ष्य लिइएको छ । यसका लागि पर्यटन गुरुयोजना निर्माण गरी बारेकोट चिनाउने अभियान सञ्चालन गरिने छ ।

कृषि, स्वास्थ्य, शिक्षालाई सुधार गर्न यहाँको पहल कस्तो रहेको छ ? 

कृषिमा एक वडा एक उत्पादन कार्यक्रम लागु गरिएको छ । शिक्षामा प्रविधिमैत्री शिक्षण सिकाइको सुरुवात गरी समयानुकूल जनशक्ति उत्पादन गर्न आवश्यक व्यवस्था गरिएको छ । स्वास्थ्य क्षेत्रमा सुधारका लागि संस्थागत, संरचनागत सुधार गर्दै आवश्यक जनशक्ति, ‍औषधि र उपकरणको व्यवस्था मिलाइएको छ । 

भूकम्पको केन्द्रबिन्दु बारेकोटमै भएकाले यहाँका जनता कस्तो अवस्थामा छन् ? 

कात्तिक १७ गते बारेकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो । त्यो भूकम्पबाट मानवीय क्षति नभए पनि बारेकोटमा ठुलो भौतिक क्षति भएको छ । यो भौतिक क्षतिबाट सिङ्गो बारेकोट यतिबेला पीडामा छ । यहाँका चार हजार चार सय घर बस्न नमिल्ने भएका छन् । यहाँका सबै परिवार अहिले विस्थापित भएका छन् । उनीहरूलाई एकसरो कम्बल र एउटा त्रिपाल उपलब्ध गराउन सके पनि उचित व्यवस्थापन गर्न सकिएको छैन । चिसो बढ्दै गएका कारण नागरिकमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । सबैलाई सुरक्षित अस्थायी बासस्थानका लागि व्यवस्था गर्न लागिएको छ । दीर्घकालीन रूपमा सुरक्षित आवास पुनर्निर्माणको अभियान चलाउनुपर्ने आवश्यकता देखिएको छ । यहाँको ८० प्रतिशत विद्यालय भवन क्षतिग्रस्त छन् । खानेपानी, सडक, सिँचाइ, बिजुली सबै भौतिक संरचना क्षतिग्रस्त छन् । स्वास्थ्य संस्था पनि क्षतिग्रस्त छन् । यिनको मर्मत, पुनर्निर्माणसहित सेवा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अब नागरिक सुरक्षाको सुनिश्चितताका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण नीति योजना कार्यक्रम अघि बढाउन जरुरी छ ।

भूकम्पबाट भग्नावशेष भएका निजी आवास कसरी निर्माण गर्ने लक्ष्य छ ?

अहिले भूकम्पबाट भग्नावशेष भएका निजी आवास निर्माणको प्रक्रिया नै सुरु भएको छैन । पहिलो चरणमा उद्धारको काम सकी अहिले राहत व्यवस्थापनमा हामी छौँ । अबको एक/दुई दिनमा अस्थायी आवास निर्माणको अभियान सुरु हुन्छ । अस्थायी आवास निर्माणपछि निजी आवास पुनर्निर्माणको काम सुरु गरिने छ । अब भूकम्प प्रतिरोधी र सुरक्षित आवास निर्माणको अभियान सञ्चालन गरिने छ । 

भूकम्पपीडितलाई राहत सामग्री वितरण न्यायोचित भएन भन्ने गुनासो छ नि ? 

यस्तो विपत्तिको समयमा सबैलाई भने अनुसार सोचेको बेला चाहेको कुरा पूरा गर्न सम्भव हुँदैन तथापि हामीले पीडितको अवस्था अनुसार व्यवस्था गरेका छौँ । जहाँसम्म राहत वितरणमा न्यायोचित भएन भन्ने सवाल छ, यो सरासर झुटो आरोप हो । 

अधिकांश विद्यालय, स्वास्थ्य संस्थाका भवन भत्किएका छन् ? निर्माणका लागि कस्तो पहल गर्नुभएको छ ? 

हो, यहाँका ८० प्रतिशत विद्यालय क्षतिग्रस्त छन् । तत्काल कक्षाकोठामा पठनपाठन सञ्चालन गर्ने अवस्था छैन । पहिलो चरणमा अस्थायी कक्षा सञ्चालनका लागि विद्यार्थी सङ्ख्याको अनुपातमा अस्थायी संरचना निर्माण गरी पठनपाठन सञ्चालन गर्ने योजनामा छौँ ।  विद्यालय भवन पुनर्निर्माणका लागि सङ्घ, प्रदेश सरकार र विभिन्न दातृ निकायको सहयोगमा सञ्चालन गर्ने तयारी गरिएको छ । यहाँको स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ । ती स्वास्थ्य संस्थामा अस्थायी रूपमा त्रिपालको व्यवस्था गरेर सेवा सञ्चालन गरिएको छ । अब यिनको मर्मत र पुनर्निर्माण गरेर जानुबाहेक अन्य विकल्प छैन ।

भूकम्पपीडित चिसो मौसममा शीत र जाडो छल्न नपाएर बिरामी पर्न थालेका छन् । औषधी उपचारको व्यवस्था कस्तो छ ? 

हो, भूकम्पपीडित यतिबेला चिसोका कारण बिरामी पर्न थालेका छन् । भूकम्प प्रभावित टोलमा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने र आवश्यकता अनुसार शिविर सञ्चालन गर्ने गरेका छौँ । सम्भावित प्रकोप नियन्त्रणका लागि विभिन्न निकायको सहयोग र सहकार्यमा आवश्यक औषधी व्यवस्थापन र जनशक्ति परिचालनको तयारी गरेका छौँ । 

भूकम्पबाट बढी प्रभावितको जीवनस्तर सुधार्न कस्तो नीति अपनाउनुभएको छ ? 

भूकम्पबाट ठुलो भौतिक क्षति भएको बारेकोट गाउँपालिका हो । यहाँको जनजीवन अहिले अस्तव्यस्त छ । यसलाई लयमा फर्काउन ठुलो चुनौती छ । यहाँका नागरिकको जीवनस्तर सुधार गर्न पुनर्बास र पुनर्निर्माण अभियान चलाउने तयारीमा छौँ । यसका लागि विभिन्न निकायसँगको समन्वयलाई तीव्रता दिइएको छ । हामीलाई विश्वास छ; सङ्घ, प्रदेश सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय र सङ्घ संस्थासँगको सहकार्यमा नागरिकको जीवनस्तरमा सुधार ल्याउन हामी सफल हुने छौँ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर