नेभिगेसन मेनु

भारतले सजिलै हरायो पाकिस्तानलाई
सम्पादक:南亚网络电视
लेखक:रातोपाटि
समय:2023-09-12 13:54

M45RW1dUNg

काठमाडौँ । वर्षाका कारण पटक—पटक रोकिएको एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणको खेलमा अन्ततः भारतले पाकिस्तानलाई दुई सय २८ रनले पराजित गरेको छ । वर्षाका कारण दुई दिनसम्म लम्बिएको उक्त खेलबाट दुई अंक बटुल्दै भारतले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

आइतबार पाकिस्तानले टस जिती पहिलो बलिङको निणर्य लिएको थियो । भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । लामो समय वर्षा नरोकिएपछि उक्त खेल सोमबारका लागि सारिएको थियो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले भारत र पाकिस्तानबीचको खेलका लागि ‘रिजर्भ डे’ को ब्यवस्था गरेको थियो । एसीसीले ‘रिजर्भ डे’ को सुविधा भारत र पाकिस्तानबीचको खेलका लागि मात्र उपलब्ध गराएपछि सहभागी अन्य टोलीले असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।

आइतबार खेल स्थगित हुँदा भारतका लागि विराट कोहली अविजित आठ र केएल राहुल अविजित १७ रन बनाउँदै क्रिजमा थिए । त्यसअघि ओपनर ब्याट्सम्यान रोहित शर्मा र शुभमन गिलले भारतका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । कप्तान रोहित शर्मा ५६ रन बनाउँदै पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ४९ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काएका थिए ।

यसैगरी शुभमन गिल ५८ रन बनाउँदै दोस्रो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ५२ बलको सामना गरी १० वटा चौका हिर्काएका थिए । आइतबार रोकिएकै अवस्थाबाट सोमबारको खेल अगाडि बढाइएको थियो । 

श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर। प्रेमादासा रङ्गशालामा सोमबार पनि वर्षाका कारण खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । खेल सुरु भएपछि पनि पाकिस्तानको पालीमा पुनः खेल केही समय वर्षाका कारण अवरुद्ध बनेको थियो ।

अघिल्लो दिन अविजित रहेका भारतका दुबै ब्याट्सम्यान केएल राहुल र विराट कोहलीले सोमबार सतक पुरा गरेका थिए । केएल राहुल र कोहलीको सतकको मद्दतले भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर तीन सय ५६ रन बनाएको थियो ।

केएल राहुलले टोलीका लागि अविजित एक सय ११ रनको योगदान गरे । उनले एक सय ६ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । ३१ वर्षीय केएल राहुलले एकदिवसीय क्रिकेटमा बनाएको यो छैटौं सतक हो । उनले एकदिवसीय क्रिकेटमा १३ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने एक सय १२ रन हो । 

यसैगरी भारतीय टोलीका पूर्वकप्तान कोहलीले अविजित एक सय २२ रन बनाए । उनले केवल ९४ बलको सामना गरी तीन छक्का र नौ चौका पनि हिर्काए ।  ३४ वर्षीय कोहलीको एकदिवसीय क्रिकेटमा यो ४७ औं सतक हो । एकदिवसीय क्रिकेटमा उनले ६५ वटा अर्धसतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने एक सय ८३ रन हो । 

कोहली एकदिवसीय क्रिकेटमा १३ हजार रन पुरा गर्ने पाँचौं खेलाडी पनि बनेका छन् । पालीका हिसाबले उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् । यो खेलअघि कोहलीले दुई सय ६६ पाली खेल्दै कुल १२ हजार नौ सय दुई रन बनाएका थिए ।

भारतले अतिरिक्त रुपमा नौ रन पाएको थियो । पाकिस्तानी टोलीका बलर साहिन शाह अफरिदी र सदाब खानले एक—एक विकेट लिएका थिए । आइतबारको खेलमा क्रममा आफ्ना तीव्र गतिका बलर ह्यारिस रउफ घाइते भएपछि सोमबार पाकिस्तान केही दबाबमा परेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२ ओभरमा एक सय २८ रनमात्र बनाउन सक्यो । पाकिस्तानले पालीको गतिलो सुरुआत गर्न सकेन । पाकिस्तानले टोलीको स्कोर ५० रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । पाकिस्तानका ओपनर ब्याट्सम्यान इमाम उल हक नौ रन बनाएर आउट भए । उनी आउट हुँदा पाकिस्तानले केवल १७ रन बनाएको थियो ।

उनलाई भारतीय बलर जसप्रित बुमहारले शुभमन गिलद्वारा क्याच गराएका थिए । दोस्रो विकेटका रुपमा कप्तान बाबर आजम पेभेलियन फर्किए । उनलाई १० रनको ब्यक्तिगत स्कोरमा हार्दिक पाण्डेयाले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले ४३ रन बनाएको थियो ।

यसैगरी तेस्रो विकेटका रुपमा मोहम्मद रिजवान आउट भए । उनी केवल दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई सार्दुल ठाकुरले केएल राहुलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा पाकिस्तानले ४७ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान फाखर जामन २७ रन बनाउँदै आउट भएका थिए । उनलाई कुलदिप यादबले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले ७७ रन बनाएको थियो । पाँचौं विकेटका रुपमा आघा सलमान २३ रन बनाउँदै आउट भए । उनलाई कुलदिप यादबले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा पाकिस्तानले ९६ रन बनाएको थियो ।

यसैगरी छैटौं विकेटका रुपमा सदाब खान आउट भए । उनलाई ६ रनका ब्यक्तिगत स्कोरमा कुलदिप यादबले सार्दुल ठाकुरद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय १० रन बनाएको थियो । सातौं विकेटका रुपमा इफ्तिखार अहमद २३ रन बनाउँदै आउट भए । उनलाई कुलदिप यादबले आफ्नो बलिङमा आफैले क्याच गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय १९ रन बनाएको थियो । 

यसैगरी आठौं विकेटका रुपमा फाहिम असरफ पेभेलियन फर्किए । उनलाई चार रनको ब्यक्तिगत स्कोरमा कुलदिप यादबले बोल्ड गरेका थिए । उनी आउट हुँदा पाकिस्तानले एक सय २८ रन बनाएको थियो । नसिम शाह र ह्यारिस रउफ घाइते भएका कारण ब्याटिङ गर्न नै आएनन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर