गत ४ असारमा सशस्त्र प्रहरी बलका एक इन्स्पेक्टर र नेपाल प्रहरीका सइ सवार भारतीय नम्बर प्लेटको कारले ड्युटीमा रहेका नेपाल प्रहरीका हवल्दार शिवनारायण महतो र जवान दीपेन्द्र गुरुङलाई ठक्कर दियो । गम्भीर चोटका कारण हवल्दार महतोले देब्रे खुट्टा गुमाए । गुरुङको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लाग्यो ।
घटना झापाको बिर्तामोड नगरपालिका– ३ बुट्टाबारीमा भएको थियो । हवल्दार महतो र जवान गुरुङलाई भारतीय नम्बर प्लेट डब्लुबी ७४ एए १७९५ नम्बरको कारले ठक्कर दिएको थियो । र, कारमा सवार थिए सशस्त्रका इन्स्पेक्टर ४५ वर्षीय खड्गबहादुर बस्नेत र नेपाल प्रहरीका सइ ५० वर्षीय निधि तिमल्सिना । दुवैले मादक पदार्थ सेवन (मापसे) गरेका थिए । कारमा मेचीनगर नगरपालिका बेलडाँगीका ३० वर्षीय न्युटन कार्की र ३८ वर्षीय बेगबहादुर सुनुवार पनि सवार थिए । प्रहरीका अनुसार सुनवारले गाडी चलाइरहेका थिए । उनीहरूले पनि मापसे गरेको प्रहरीको भनाइ छ । तर, स्वास्थ परीक्षणमा इन्स्पेक्टर बस्नेतले मात्रै मापसे गरेको देखियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार दुर्घटनाअघि कार अनियन्त्रित भई हुइँकिएको थियो । खुट्टा गुमाएका महतोको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । गुरुङ उपचारपछि घर फर्किएका छन् । प्रहरीका अनुसार ४ असारको साँझ आठ बजेर २५ मिनेटमा असइ जानुका चौहानको नेतृत्वमा हवल्दार महतो र गुरुङ बिर्तामोड– ३ बुट्टाबारीस्थित मेचाकाली राजमार्गमा खटिएका थिए ।
मे.१ज ८७३ नम्बरको गाडीको गतिविधि शंकास्पद देखिएपछि उनीहरू गाडीलाई सडकमै रोकेर चेकजाँच गर्दै थिए । त्यहीक्रममा भारतीय नम्बर प्लेट डब्लुबी ७४ एए १७९५ नम्बरको कारविपरीत दिशाबाट बत्तिँदै आयो, महतो र गुरुङलाई ठक्कर दियो । गुरुङ उछिट्टिएर सडक–किनार पुगे । सडकमै ढलेका महतोको खुट्टामाथि चढेर कार फरार भयो । रातभरको अपरेसनपछि प्रहरीले घटनामा संलग्नमध्ये तीनलाई पक्राउ गर्यो । जसमध्ये एक मेचीनगरस्थित बाउनडाँगीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक बस्नेत थिए । अर्का बाउनडाँगी प्रहरी चौकीका इन्चार्ज सइ तिमल्सिना थिए ।
कारबाही गर्न सशस्त्रको आलटाल
नेपालभित्र सरकारी कर्मचारीले अनुमतिविना विदेशी नम्बर प्लेटको गाडी चढ्नु गैरकानुनी मानिन्छ । तर, उनीहरूले अनुमति नलिई विदेशी नम्बर प्लेटको कार चढेका थिए । सोहीकारण, घटनामा मुछिएका नेपाल प्रहरीका सइ तिमल्सिना निलम्बनमा परिसकेका छन् । तर, सशस्त्रका इन्स्पेक्टर बस्नेतमाथि कुनै कारबाही भएको छैन ।
मेचीनगरस्थित बाउनडाँगी पोष्टका इन्चार्ज उनलाई सशस्त्रले त्यहाँबाट सशस्त्र प्रहरी गण झापामा तानेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले घटना सम्बन्धमा जानकारी रहेको र उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको बताए ।‘बिर्तामोडमा भएको दुर्घटनाको सम्बन्धमा मैले जानकारी पाएँ । घटनामा मुछिएका इन्पेक्टरलाई पोस्टबाट हटाइएको छ । उनलाई अहिले झापा गणमा तानिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ प्रवक्ता एसएसपी खड्काले भने, ‘उनीविरुद्ध नसियत लिने, निलम्बन गर्ने वा स्पष्टीकरणमध्ये के लिने भन्ने विषयमा छलफल भइरहेको छ ।’ उनले विदेशी नम्बर प्लेटको गाडी चढेको पाइए कानुनअनुसार कडा कारबाही हुने बताए ।