नेभिगेसन मेनु

बुटवल बजार चलायमान बनाउन पहल
सम्पादक:南亚网络电视
समय:2023-05-03 12:38

butwal_city

कुनै बेला बुटवल लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाको आर्थिक केन्द्र थियो। पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठानलगायतका पहाडी जिल्लाका मानिसका लागि बुटवल बजार नुनदेखि सुनसम्मको किनमेलको ठाउँ थियो तर पछिल्लो समय बुटवलको ऐतिहासिक पहिचान गुम्दै गएको छ। 

बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलबाट विगत छ महिनाको बीचमा २५ हजार मानिस विस्थापित भएको र एक हजार व्यवसायीले व्यवसाय छाडेर पलायन भएको जनाएको छ। 

बुटवल बजार सुक्दै गएपछि व्यवसायीले नै बजार चलायमान बनाउन सामूहिक प्रयास थालेका छन्। रुपन्देही व्यापार सङ्घ, रुपन्दही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ, खुद्रा किराना व्यवसायी सङ्घ र नेपाल घरबहाल सरोकार सङ्घको संयुक्त बैठकले बुटवलको घट्दो र खस्कँदै गएको व्यापारलाई बचाउन घरभाडा घटाउन घरधनीहरूसँग सामूहिक आग्रह गरेको छ।

बुटवल उद्योग वाणिज्य सङ्घको बैठकले आफूले लगाएको घरको भाडा घटाउने निर्णय गरेको छ। सङ्घका अध्यक्ष उज्ज्वल कसजूले बुटवल बजारको व्यावसायिक सटर घरको भाडा धेरै भएको गुनासो आएपछि सङ्घले लगाएको सटर भाडामा १५ प्रतिशत छुट दिएको बताउनुभयो।    

रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बढ्दो आर्थिक मन्दीबाट आमउपभोक्ता तथा घरधनीलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पलायन हुन थालेपछि बुटवलमा घरभाडा घटाउन पहल भइरहेको बताउनुभयो। 

बुटवलका व्यावसायिक सङ्घ/संस्थाले घर तथा सटरभाडामा २० देखि २५ प्रतिशत छुट गर्न घरधनीसँग आग्रह गरेका छन्। 

रुपन्देही व्यापार सङ्घका उपाध्यक्ष प्रकाश ढकालले बुटवलको बजार कम हुँदै जानुको प्रमुख कारणमा घरभाडा धेरै हुनु पनि रहेको बताउँदै विश्व आर्थिक मन्दी र प्रदेश राजधानी बुटवलबाट दाङ सर्नु र बुटवलको निर्माणाधीन सडक पनि समस्याका रूपमा रहेको बताउनुभयो। 

उहाँले तत्काल बुटवल बजारलाई विस्थापित हुन नदिन घरभाडा घटाउनुपर्ने व्यावसायिक सङ्घ/संस्थाको बैठकले ठहर गरेकाले सबै घरधनीलाई घरभाडा घटाउन आग्रह गरेको बताउनुभयो। 

रुपन्देही व्यापार सङ्घका पूर्वअध्यक्ष पदमप्रसाद श्रेष्ठले पछिल्लो समयमा बुटवलका व्यवसायी धेरै पीडामा रहेको उल्लेख गर्दै त्यसको समाधान नीतिगत रूपमा खोज्नुपर्नेमा जोड दिनुभयो।

सङ्घका पूर्वअध्यक्ष गोविन्द गैरेले राज्यले उद्योगी व्यवसायीको समस्या बुझ्ने काम गर्न नसकेको गुनासो गर्दै बुटवलको बजारमा चहलपहल फर्काउन घरभाडामा छुट गर्नुपर्ने, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण छिटो गर्नुपर्ने सुझाव दिनुभयो। 

बुटवल उद्योग वाणिज्य सङ्घका सदस्य वसन्त ढकालले बुटवल बजारको भविष्य सङ्कटमा परेको अवस्थाप्रति सबै उद्योगी व्यवसायीले सोच्नुपर्ने बताउनुभयो। उहाँले बुटवलको बजार ५० प्रतिशत घटेको बताउँदै अब सबै व्यावसायिक सङ्घ/सङ्गठन मिलेर गहन छलफल गर्नुपर्ने बेला आएको बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर