नेभिगेसन मेनु

मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी
सम्पादक:南亚网络电视
समय:2023-04-21 12:33

lumbini

वैशाख ८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।  

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीलाई सत्ता साझेदार दलहरूले दिएको विश्वासको मत गत चैत १२ गते फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ भित्रै विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

लुम्बिनी प्रदेश सभामा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री गिरीले विश्वासको मत लिने निर्णय गर्नुभएको बताउनुभयो । मुख्यमन्त्री गिरीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले राजीनामा गर्नुपर्ने माग विपक्षी नेपाली कांग्रेससहितका दलहरूले गर्दै आएका छन् । विपक्षी दलहरूको राजीनामाको दबाबका बीच मुख्यमन्त्री गिरीले प्रदेश सभामा बहुमत सिद्ध गर्ने प्रयास गर्नुहुने प्रमुख सचेतक चौधरीले बताउनुभयो ।  

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा गिरी नियुक्त हुनुभएको हो । मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत सिद्ध गर्न नसके मुख्यमन्त्रीले संविधानको १६८ को उपधारा ३ बमोजिम अर्को सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सचेतक चौधरीकै भनाइमा सबैभन्दा ठूलो दलको हिसाबले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार बनाउन एमालेका तर्फबाट गिरीले नै दाबी गर्ने गरी तयारी भइरहेको छ ।      

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासका मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते सोमबार ११ बजेका लागि तोकेको छ । 

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले प्रदेश सभाको सोमबारको कार्यसूची सार्वजनिक नभएको बताउँदै कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यस विषयमा निर्णय गर्ने बताउनुभयो । गत चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै त्यही दिन नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा अर्को सरकार बनाउन ५३ जना सांसदले हस्ताक्षर गरी लुम्बिनी प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए । 

८७ सदस्यीय प्रदेश सभामा बहुमत पु-याउन ४४ सिट आवश्यक पर्दछ । मुख्यमन्त्री गिरीलाई ५७ सांसदले विश्वासको मत दिएका थिए । लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ११, राप्रपा चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र नेकपा (एकीकृत समाजवादी)का एक र स्वतन्त्र एक जना गरी ८७ प्रदेश सभा सदस्य रहेका छन् । हालका मुख्यमन्त्री गिरीलाई अहिले राप्रपाले मात्रै साथ दिएको छ । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँंगै त्यसको असर लुम्बिनी प्रदेशमा पनि परेको हो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर