नेभिगेसन मेनु

उत्पादन छैन, गुजारा चलाउन गाह्रो
सम्पादक:南亚网络电视
समय:2023-04-10 15:18

Untitled-1

दाङको गढवा गाउँपालिका–८, मुसीनाकास्थित पहाडमा सुमित्रा कुमालको घर छ । पहाडको काखमा खरले छाएका घरमा बुहारी र नातिनातिनासँग सुमित्रा बस्दै आउनुभएको छ। 

सुमित्राका दुई छोरासहित श्रीमान् मजदुरीका लागि भारतमा हुनुहुन्छ। घरमा उत्पादन हुने अन्नपातले परिवार पाल्न नसकिने भएकाले परिवार पाल्नकै लागि मजदुरी गर्न बाहिर जानुपर्ने सुमित्राको परिवारलाई बाध्यता छ । 

उहाँ भन्नुहुन्छ, “यहाँ सिजनमा मकै र आलु मात्रै हुन्छ। बाँकी समयका लागि गुजारा गर्न अन्नपातदेखि कपडा सबै बाहिरबाटै किन्नुपर्ने हुन्छ। घरको दैनिकी गुजारा चलाउनकै लागि पनि कमाउन बाहिर जानुपर्ने बाध्यता छ ।” 

पुरुष जति भारत पस्नु पर्ने अनि घरमा बस्ने महिलाले खसी, बोका तथा गाईबस्तु पाल्ने गरेका छन्। 

सिँचाइको सुविधा नहुँदा खेतीको मौसममा पनि यहाँ मकै, मसुरो र आलुलगायतका अन्नबाली मात्र उत्पादन हुने गर्छन्। प्रशस्त उत्पादन नहुने भएकाले वर्षभरि खान नपुग्ने गरेको कुरा यहाँका स्थानीयले बताएका छन्। 

मुसीनाकाकै रामकुमारी विकले पनि करिब तीन/चार घण्टा हिँडेर भारतको बालापुरमा लाग्ने हाटबजारबाट खाद्यान्न ल्याएर दैनिकी चलाउने गरेको बताउनुभयो। 

रामकुमारीले भन्नुभयो, “सिँचाइको सुविधा नहुँदा गाउँमा अन्नपात उत्पादन हुँदैन । त्यसैले गाउँमा अधिकांश परिवार भारतका बजारसम्म पुगेर मजदुरी नै गर्ने गर्दछन् ।” मुसीनाकामा सशस्त्र प्रहरीको बीओपी बसेपछि विद्युत्सँगै हिउँदमा ट्याक्टर र मोटरसाइकल चल्ने सडक बनेका छन् तर ठूलो पानी परेको खण्डमा सडक हिलाम्ये भएर हिँड्न नसकिने स्थानीय बताउँछन्। 

बर्खाका बेला आवतजावत गर्न कठिनाइ भएसँगै स्थानीयलाई खाद्यान्न किनमेल गर्न भारतको बालापुर र बिरामी हुँदा कोइलाबास पुग्नसमेत समस्या हुने गरेको छ। बर्खाको समयमा गाउँमा कोही बिरामी भए बोकेर स्वास्थ्य चौकी लग्नुपर्ने बाध्यता छ। अन्य सुविधाभन्दा पनि बाह्रै महिना राम्रोसँग हिँड्न मिल्ने सडक भइदिए स्थानीयका लागि ठूलो राहत हुने रामकुमारी बताउनुहुन्छ। 

रामकुमारीका अनुसार स्थानीयलाई पार्टीका नेताका सपना र आश्वासनमा अब विश्वास लाग्दैन । चुनावताका मात्रै नाकाका बस्तीमा पार्टीका नेताहरू आउने गरेका छन्, मत माग्छन्। 

चुनाव जितेपछि न नेता आउँछन् न चुनावका बेला बोलेको कुरा पूरा गर्छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँमा खानेपानीको समस्या समाधान गर्ने प्रयास भएको त छ तर खानेपानी आयोजना भरपर्दाे बन्न नसकेको स्थानीय कमल विकले बताउनुभयो। मुसीनाकावासीलाई सञ्चारको समेत समस्या छ । जुनसुकै बेला घरमा फोन गरौँ भने पनि त्यसो गर्न पाउँदैनन् । गाउँमा फोनको नेटवर्कले काम गर्दैन । फोनमा कुरा गर्नुपरे पहाडको डाँडासम्म पुग्नुपर्ने बाध्यता रहेको उहाँले दुखेसो पोख्नुभयो। 

सबै मुसीनाकावासीको जीवनमा समस्यैसमस्या रहँदै आएको  गढवा गाउँपालिका–८ का पूर्ववडाध्यक्ष सद्दाम सिद्दिकीले बताउनुभयो। मुसीनाकामा ३२ घरपरिवार बस्दै आएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर