नेभिगेसन मेनु

उद्योग नखुलेसम्म रोजगारी सिर्जना नहुने
सम्पादक:南亚网络电视
समय:2023-02-21 16:01

Untitled-1 (2)

धनगढी, फागुन ९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारी सिर्जनाका लागि लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ । 

मुख्यमन्त्री शाहले ठूला उद्योग, कलकारखाना नखुलेसम्म सुदूरपश्चिममा बेरोजगारीको समस्या कम नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो सङ्ख्यामा रोजगारी सिर्जना नगरिए युवालाई विदेश जानबाट रोक्न सकिँदैन ।”

मुख्यमन्त्री कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “प्रदेशमा लगानी गर्न चाहने उद्योगी, लगानीकर्तालाई आवश्यक सुरक्षा तथा अन्य सुविधा उपलब्ध गराउनेछ ।” उहाँले सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रको अधिक सम्भावना रहेकाले सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

उहाँले प्रदेश सरकारले प्रदेशमा कृषि उद्योग स्थापनाका लागि पहिलो बैठकबाटै निर्णय लिएको बताउनुभयो । उहाँले मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा प्रदेशमा आर्थिक अनियमिता र भ्रष्टाचारको अवस्था र समस्याबारे अध्ययनका लागि समिति गठन गरेको स्मरण गर्दै प्रदेशमा भ्रष्टाचार पूर्ण रूपमा अन्त्यका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सरकारलाई विश्वासको मत प्राप्त हुने र पाँचै वर्ष सरकार टिक्ने दाबीसमेत गर्नुभयो । 

नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकार गत माघ २६ गते संसद्मा विश्वासको मत प्राप्त गर्न असफल भएको थियो । त्यसपछि संसद्मा सबैभन्दा ठूलो दलका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

मुख्यमन्त्री शाहले पूर्ण बहुमत कसैको नभए पनि प्रदेश सरकार पाँच वर्ष टिक्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यावधि हुँदैन, अफवाह मात्रै हो । हामी विश्वासको मत चाँडै लिन्छौँ । सबै पक्षको मत पाउने गरेर छलफल, संवाद भइरहेको छ ।” 

उहाँले विश्वासको मत पाउन ५३ सदस्यीय प्रदेश सभा सदस्यमध्ये २७ जनाको विश्वास प्राप्त गर्नुपर्नेछ । उहाँले फागुन तेस्रो साताभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । अहिले उहाँसँग नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र स्वतन्त्रका एक जनाको समर्थन छ ।

यसअघि नेकपा (एमाले)का संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकार आफ्नै गठबन्धनको दल नागरिक उन्मुक्ति पार्टीको मत नपाउँदा ३० दिनमै ढलेको थियो । उन्मुक्तिले रावललाई मुख्यमन्त्रीमा दाबी गर्दा समर्थन दिए पनि पछि प्रदेश सभामा विश्वासको मत दिएको थिएन । 

प्रदेश सभामा एमाले, नेकपा (माओवादी केन्द्र)का १०-१०, उन्मुक्तिका सात र राप्रपाका एक प्रदेश सभा सदस्य छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर