नेभिगेसन मेनु

बौद्धमा दिवङ्गत पितृका नाममा बत्ती बाल्नेको भीड
समय:2022-04-16 03:39

काठमाडौं । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तुप) परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको शुक्रबार बिहानैदेखि भीड लागेको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तुपमा आई दिवङ्गत पितृको सम्झनामा बत्ती बालेमा पितृले मुक्ति पाई कर्ताको जीवनमा पनि सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडा डाँडामा रहेका बस्तीमै यस दिन दिवगंत पितृलाई सम्झने विधि प्रचलनमा रहेपनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिई बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा बताउँछन् ।

“चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि छ”, उनले भने ।

यो विधि पूरा गरेमा दिवङ्गत पितृको दुर्गति नहुने र पुनर्जन्म सुखवती भुवनमा हुने भनी बौद्ध धर्म ग्रन्थमा व्याख्या गरिएको तेमाल जात्रा व्यवस्थापन समितिको संयोजकसमेत रहेका लामाले जानकारी दिए ।

जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने भेषभूषा एवं र्यालीसमेत प्रदर्शन भइरहेको छ । आजदेखि सुरु भएको बौद्धको तेमाल जात्रा भोलि बिहानसम्म चल्नेछ । रातभर मेलामा सहभागी हुने जात्रालुका लागि स्तूप परिसरमा पाल टाँगेर बस्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

जात्रामा विशेषगरी काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ र मकवानपुरलगायत जिल्लाका तामाङ समुदाय बौद्ध परिसरमा भेला हुने गर्छन् । जात्राको अवसरमा आज बौद्ध घ्याङ गुठीले स्तुप र अजिमाथानमा विशेष पूजा गरेको जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर