
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १६ गते । चीनसँगको उत्तरी सीमा जोड्ने कोरला नाकाबाट हुने व्यापारमा सडक अवरोधले असर पारेको छ। बेनी–जोमसोम–कोरला सडकका विभिन्न स्थानमा बाढीपहिरो र नदी कटानले सडक क्षतिग्रस्त भएपछि कोरलानाकास्थित न्हेचुङ भन्सार यार्डमा चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर रोकिएका छन्।
भारी वर्षाका कारण गत शनिबार रातिदेखि बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा बाढीपहिरो र नदी कटानबाट क्षति पुगेपछि कोरलानाकाबाट हुने आयात–निर्यात प्रभावित भएको हो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भन्सार यार्डमा रोकिएका कन्टेनरमध्ये करिब ९० प्रतिशतको जाँचपास प्रक्रिया पूरा भइसकेको छ। सडक सञ्चालनमा नआउँदा जाँचपास भएका मालसामानसमेत गन्तव्यतर्फ लैजान नसकिएको उनले बताए।
‘कोरलानाकास्थित भन्सार यार्डमा १५० भन्दा बढी कन्टेनर छन्। तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास भइसकेको छ,’ उनले भने, ‘केही कन्टेनर जाँचपासको प्रक्रियामा छन्। त्यो पनि अबको दुई दिनभित्र सकिनेछ।’
तातोपानी र रसुवागढी नाका बाढीपहिरोका कारण बन्द भएपछि चीनबाट हुने आयातका लागि कोरला नाका मुख्य वैकल्पिक मार्ग बनेको थियो। तर, कोरला जोड्ने सडक नै अवरुद्ध भएपछि त्यसको असर आयात–निर्यात व्यापारमा परेको हो।
नयाँ कन्टेनर थपिएनन्
भारी वर्षा सुरु हुनुअघि नै चीनबाट मालसामान लिएर कोरला पुगेका कन्टेनर भन्सार जाँचपास सकेर पनि गन्तव्यतर्फ जान पाएका छैनन्। सडकको अवस्था बिग्रिएपछि नयाँ कन्टेनरसमेत थपिन छाडेको भन्सार कार्यालयले जनाएको छ।
‘सडक अवरुद्ध भएकाले नयाँ कन्टेनर थपिएका छैनन्,’ चुडालले भने, ‘चीनबाट मालवस्तु लिएर आएका कन्टेनर पनि सडकको अवस्थाका कारण तल झर्न सकेका छैनन्।’
कोरलानाकाबाट दसैं–तिहारलाई लक्षित गरी तयारी पोसाक, लत्ताकपडा, विद्युतीय सामान, दैनिक उपभोग्य वस्तु, फलफूल, औद्योगिक कच्चापदार्थ तथा विद्युतीय सवारीसाधन आयात हुने गरेको छ। चाडपर्वको मुख्य व्यापारिक सिजनमै सडक अवरुद्ध हुँदा आयातकर्तादेखि व्यवसायीसम्म प्रभावित भएका छन्।
दैनिक ३० करोडभन्दा बढी राजस्व प्रभावित
सडक अवरुद्ध हुँदा व्यापारसँगै सरकारी राजस्व संकलनमा समेत असर परेको छ। रसुवागढी–केरुङ नाका बाढीका कारण बन्द भएपछि कोरला नाकाबाट आयात बढ्दा मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो।
भन्सार प्रमुख चुडालका अनुसार अहिले सडक अवरुद्ध भएपछि त्यही अनुपातमा आयात तथा राजस्व संकलन प्रभावित हुने अवस्था आएको छ। दसैं–तिहारका लागि चीनबाट ठूलो परिमाणमा सामान आयात हुने समयमा सडक अवरुद्ध हुँदा राज्यको राजस्वमा समेत असर पर्ने उनले बताए।
कोरला नाकाबाट विशेषगरी विद्युतीय सवारीसाधन, औद्योगिक कच्चापदार्थ, विद्युतीय उपकरण, तयारी पोसाक, दैनिक उपभोग्य सामग्री र फलफूल आयात हुने गरेको छ।
करिब २०० विद्युतीय सवारीसाधन रोकिए
सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका करिब २०० विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान पाएका छैनन्।
सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म जोमसोमका अनुसार तीमध्ये १०० भन्दा बढी विद्युतीय सवारीसाधन पाँच दिनदेखि जोमसोम बसपार्कमै रोकिएका थिए। कोरला नाकाबाट भित्रिएका सवारीसाधन सडकको अवस्थाका कारण जोमसोमबाट तलतर्फ लैजान नसकिएको हो।
सडकका विभिन्न खण्डमा यातायात सञ्चालन हुन नसक्दा भन्सार जाँचपास भएका सामान तथा सवारीसाधन गन्तव्यमा पुर्याउन व्यवसायीलाई समस्या भएको छ।
जोमसोम–कोरला खण्ड सञ्चालनमा
यसैबीच वर्षाका कारण पाँच दिनदेखि अवरुद्ध जोमसोम–कोरला सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कालीगण्डकी करिडोर, स्थानीय तह तथा सुरक्षा निकायको पहलमा पहिरो पन्छाउने र सडक सफा गर्ने काम गरेपछि उक्त खण्डमा आवागमन सुरु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले पहिरो पन्छाएपछि जोमसोम–कोरला खण्ड सञ्चालनमा आएको जानकारी दिए।
तर, जोमसोम–कोरला खण्ड सञ्चालनमा आए पनि बेनीदेखि जोमसोमसम्मका सबै सडक पूर्ण रूपमा सहज भइसकेका छैनन्। सडकका विभिन्न स्थानमा भएको क्षति र पुल तथा सडकको संरचनामा पुगेको क्षतिका कारण मालवाहक सवारीसाधनको नियमित आवागमनमा अझै चुनौती रहेको सडक आयोजनाले जनाएको छ।
४६ स्थानमा बाढीपहिरो र नदी कटान
बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार पर्वतको मालढुंगाबाट म्याग्दीको बेनीसम्म पाँच स्थानमा सडकमा क्षति पुगेको छ। बेनीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म २५ स्थानमा तथा मुस्ताङको काभ्रेभीरदेखि कोरलानाकासम्म १६ स्थानमा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मालढुंगादेखि गलेश्वरसम्मको सडक तथा म्याग्दीको दानादेखि कोरलानाकासम्मको सडक मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएको छ।
तर, म्याग्दी खण्डका केही स्थानमा भएको क्षति गम्भीर रहेकाले सडकलाई पूर्ण रूपमा सहज बनाउन समय लाग्ने उनले बताए।
पुलको एप्रोच बगेपछि यातायातमा थप समस्या
भारी वर्षापछि आएको बाढीपहिरोले म्याग्दीको रघुगंगा क्षेत्र तथा बैसरीका विभिन्न खण्डमा सडकमा ठूलो क्षति पुर्याएको आयोजनाले जनाएको छ। बैसरीका १, २ र ३ नम्बर खण्ड तथा सिरुवारी क्षेत्रमा सडकमा गम्भीर क्षति पुगेको छ।
त्यस्तै, म्याग्दीको तातोपानी–पोखरेबगर जोड्ने पक्की पुलको एप्रोच सडकसमेत बाढीले बगाएको छ। तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे र महभीरलगायत स्थानमा सडकमा बाढीपहिरोबाट क्षति पुगेको छ।
आयोजना प्रमुख शर्माका अनुसार ती स्थानमा सडक मर्मत गरेर नियमित यातायात सञ्चालनमा ल्याउन केही समय लाग्नेछ। सडक मर्मतका लागि आवश्यक उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापनमा समेत समस्या रहेको उनले बताए।
कोरला नाका चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाका बन्दै गएको अवस्थामा मुख्य सडकखण्डमा बारम्बार बाढीपहिरो र नदी कटानको समस्या देखिन थालेपछि आयात हुने सामानको ढुवानी, भन्सार राजस्व तथा चाडपर्व लक्षित व्यापारमा प्रत्यक्ष असर परेको छ। अहिले कोरला नाकाबाट भित्रिएका सामान तथा विद्युतीय सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन सडक पूर्ण रूपमा सहज हुनुपर्ने अवस्था छ।


















