
काठमाडौँ, भदौ २ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच नेपाल–चीन आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
महासंघ सचिवालय टेकुमा सोमबार भएको भेटवार्तामा दुई देशबीचको परम्परागत व्यापारिक सम्बन्धलाई विस्तार गर्दै लगानी, प्रविधि हस्तान्तरण, संयुक्त उद्यम, पर्यटन र निर्यात प्रवद्र्धनमा आधारित दीर्घकालीन आर्थिक साझेदारी विकास गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका हुन्।
अध्यक्ष श्रेष्ठले नेपालका चिया, कफी, जडीबुटी तथा हर्बल उत्पादन, हस्तकला, फेल्ट, हस्तनिर्मित कागज, तयारी पोसाक र सिङ्गिङ बाउललगायत नेपाली वस्तुको चीनमा निर्यात बढाउन चिनियाँ पक्षको सहजीकरण आवश्यक रहेको बताए।
उनले चीनसँगको व्यापारमा नेपालको निर्यात निकै न्यून रहेको उल्लेख गर्दै अब व्यापार मेलामा सहभागितामात्र नभई वास्तविक अर्डर, दीर्घकालीन खरिदकर्ता र व्यावसायिक साझेदारी निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
महासंघले विगत १५ वर्षभन्दा बढी समयदेखि चीनको कुनमिङमा आयोजना हुँदै आएको चाइना–साउथ एसिया एक्स्पोलगायत विभिन्न व्यापार मेलामा नेपाली व्यवसायीको सहभागिता गराउँदै आएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले चिनियाँ पर्यटकको आगमन बढाउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा समेत जोड दिए।
नेपाल एलडीसीबाट स्तरोन्नतिको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा निर्यात विविधीकरण, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र गुणस्तरीय वैदेशिक लगानी आकर्षित गर्न चीनको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए। चीनसँगको सहकार्यबाट नेपालको उत्पादन क्षमता बढाउँदै क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा जोडिन सकिने उनको भनाइ थियो।
यस्तै, आगामी डिसेम्बरमा काठमाडौंमा आयोजना हुने ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चिनियाँ कम्पनीहरूको थप सहभागिताका लागि अध्यक्ष श्रेष्ठले राजदूत माओमिङसँग आग्रह गरे। उनले उक्त मेलालाई नेपाल र चीनका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।
भेटमा चिनियाँ राजदूत चाङ माओमिङले नेपाल–चीन सम्बन्धलाई आर्थिक तथा व्यावसायिक क्षेत्रमा थप गहिरो बनाउनुपर्ने बताए। नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवद्र्धन गर्न तथा दुई देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तार गर्न चीनले सहजीकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
राजदूत माओमिङले चिनियाँ बजार प्रतिस्पर्धात्मक भएकाले नेपाली वस्तु निर्यात गर्दा गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र पर्याप्त परिमाणमा विशेष ध्यान दिनुपर्ने बताए। नेपाली व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोग गर्न चीन तयार रहेको उनको भनाइ थियो।
भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्षद्वय कृष्णप्रसाद शर्मा र नरेशलाल श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठलगायतको सहभागिता थियो। उनीहरूले चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा महत्वपूर्ण वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापारमा रहेको असन्तुलन घटाउन नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तारका लागि थप सहजीकरण आवश्यक रहेको बताए।


















