एस ए टी भी २९ कार्तिक, काठमाण्डौंः नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकप खेल्ने भएको छ । यूएईमा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले बुधबार यूएईलाई ८ विकेटले पराजित गरेसँगै जनवरी–फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको यू–१९ विश्वकपका लागि ढोका खुलेको हो ।
टस जितेको यूएईलाई अजमानस्थित द सेभेन रंगशालामा नेपालले निर्धारित २० ओभरमा ८३–९ को स्थितिमा रोकेको थियो । साधारण जितले
नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्दैनथ्यो । यूएईलाई नेट रनरेटमा उछिन्न नेपालले यो लक्ष्य १६.२ ओभरमा पूरा गर्नुपर्ने थियो ।
ओपनर सना प्रवीणले अविजित ३५ रन बनाएपछि नेपालले १४.४ ओभरमै ८६ रन बनाएको थियो । ४२ बल खेलेकी उनले नै विजयी चौका हानिन् । प्रवीणले सोनी पाख्रिनसँग तेस्रो विकेटमा ३८ रनको अविजित साझेदारी गरिन् । सोनीले १९ बल खेलेकी थिइन् । सावित्री धामी ९ बलमा १ चौका प्रहार गरी १२ र कप्तान पूजा महतो १८ बलमा ४ चौका प्रहार गरी २३ रनमा आउट भएकी थिइन् ।
सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थाले पनि नेपाली राष्ट्रिय महिला टोली अझै विश्वकपमा पुग्न सकेको छैन । यू–१९ महिला विश्वकपको सुरुवात २०२३ देखि भएको हो ।
नेपाली महिला टोलीले दुई वर्ष अगाडिसम्म सम्झनलायक प्रदर्शन दिन सकेको थिएन । ‘हाम्रा खेलाडीको मिहिनेतको परिणाम हो, यो प्रतियोगिताको महत्त्व राम्ररी बुझेकाले पनि नतिजा ल्याउन हाम्रा खेलाडी संकल्पित थिए । महिला क्रिकेटका लागि यो आवश्यक पनि थियो,’ नेपाली यू–१९ महिला टोलीका प्रशिक्षक महेश रिजालले यूएईबाट कान्तिपुरसँग भने, ‘नेपाल क्रिकेट संघले तयारीका लागि आवश्यक डेढ महिनाको बन्द प्रशिक्षण शिविर र दिल्लीमा अभ्यास खेल गरेकाले पनि हामी यो नतिजा ल्याउने अवस्थामा पुगेका हौं ।’
एसिया क्षेत्रको विजेता भएको नेपाल मलेसियामा हुने यू–१९ विश्वकपमा समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग परेको छ । नेपालले जनवरी १८ मा बंगलादेश, जनवरी २० मा स्कटल्यान्ड र जनवरी २२ मा अस्ट्रेलियासँग खेल्नेछ । नेपालले बंगलादेशसँग मिलेर आफैं सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप आयोजना गर्नेछ । आयोजक नाताले सोझै २०२७ को विश्वकप खेल्न पाउने अवसरभन्दा पहिल्यै नेपाली यू–१९ महिला टोली प्रतिस्पर्धामा जितेरै विश्वकपमा छनोट भएको हो ।
डबल राउन्ड खेलेपछि शीर्ष टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने प्रावधान थियो । यूएईले पहिलो ५ खेल नै जितेको थियो भने नेपालले ५ मध्ये ४ खेल जितेको थियो । पहिलो चरणमा नेपालमाथि १३ रनको विजय हात पारेकाले यूएई बलियो स्थितिमा थियो । नेपालको हकमा भने यूएईसँगको अन्तिम खेल फाइनलसरह बन्यो ।
यूएईमा दाहिने हाते मध्यम गतिकी बलर कृष्मा गुरुङले ४ विकेट लिँदै नेपालको विजय आधार बनाइदिएकी थिइन् । ‘प्लेयर अफ द म्याच’ उनले ४ ओभरमा १७ रन मात्र खर्चेकी हुन् । उनले खेलको दोस्रो तथा आफ्नो पहिलो ओभरमै इमिली थोमसलाई आउट गरी यूएईलाई सुरुदेखि नै दबाबमा राखिन् ।
कृष्माले यूएईकी कप्तान समइरा धरणीधर्काको पनि विकेट लिएकी थिइन् । धरणीधर्काले ४८ बल खेल्दै १ चौकासहित ३२ रन बनाइन् । रिनिथा रजिथले १८ बलमा २ चौकासहित २० रन जोडिन् । कृष्माबाहेक नेपालबाट रिया शर्मा र सीमा केसीले २–२ र रचना चौधरीले १ विकेट लिएका थिए ।
एसिया कपलाई पनि छनोट
नेपाल आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट विजेता बनेसँगै एसीसी यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले बुधबार जनाएअनुसार नेपाललाई विजेता तथा मलेसियालाई यू–१९ विश्वकप आयोजकको हिसाबमा स्थान दिइएको छ ।
एसीसी यू–१९ महिला एसिया कप पनि मलेसियामै डिसेम्बर १५ देखि २२ सम्म हुनेछ । समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । नेपालले डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।